Logo

विकासका पर्याय विष्णु पौडेल



बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीलाई विकासको रोलमोडल बनाउने लक्ष्य लिएका एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलका ड्रिम प्रोजेक्टहरू साकार हुँदा वास्तवमै यसक्षेत्रको कायापलट हुने निश्चित छ ।

एकताका नेता पौडेलले बुटवल–बेलहिया सडक विस्तार गर्नुपर्छ भन्दा केही इन्जिनियरले जरुरी छैन भनेका थिए । तर, केही समयमै यहाँको सडक विस्तार भयो र जारी छ । अहिले लुम्बिनीदेखि तराईका जुनसुकै स्थानमा जाने सडक होस् वा हुलाकी सडक होस् तथा पूर्व–पश्चिम राजमार्ग नै यी सबै विस्तार भइरहेका छन् । यसको योजनाको सुरुआत नेता पौडेलले गर्नुभएको थियो ।

पौडेलका ड्रिम प्रोजेक्ट लक्षित योजनाहरू साकार हुनेगरी हालै विश्व बैंकले स्रोत सुनिश्चित गरिसकेको छ । नेता पौडेलले भन्दै आएको बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक चार लेनमा विस्तार हुने भएको छ भने बुटवलको तिनाउमा आकर्षक सिग्नेचर पुल बन्नेछ । पुलको डिजाइन अन्तिम चरणमा पुगेको छ । सडकको भने अबको केही समयमै ठेक्का प्रक्रिया अगाडि बढ्नेगरी काम भइरहेको छ । यसका लागि विश्व बैंकसँग नेता पौडेलले सुरुदेखि नै परामर्श गर्दै आउनुभएको थियो ।

अबको केही समयमै यो सडक खण्डको ठेक्का लाग्नेगरी काम अगाडि बढेको सडक विभागले जनाएको छ । विभागका अधिकारीहरूले पनि स्रोत सुनिश्चित भइसकेको र आवश्यक प्रक्रिया पनि पूरा भएकाले अबको केही समयमै टेण्डरको चरणमा पुग्ने बताएका छन् । विभागका डिजी अर्जुन थापाका अनुसार स्रोत सुनिश्चित भइसकेको र डीपीआर समेत तयार भइसकेकाले अबको केही समयमै बुटवल–गोरुसिंगे सडकलाई चार लेनमा बिस्तार गर्न ठेक्का आह्वान गरिने छ । गोरुसिंगे–चन्द्रौटा बीचको करिब १४ किलोमिटर सडकको डीपीआर भने पूरा भएको छैन । यो खण्डको डीपीआर पूरा भएलगत्तकै अर्को चरणको काम अगाडि बढ्ने छ । पहिलो चरणमा बुटवलदेखि गोरुसिंगेसम्मको सडकको ठेक्काको सूचना प्रकाशित गरिने छ । यो खण्ड र तिनाउको सिग्नेचर पुलका लागि ३५ अर्ब रुपियाँ रकम स्रोत सुनिश्चित भइसकेको छ ।

पुल प्रविधिको आधुनिकीकरण र सुरुङमार्ग बुटवलमै

नेपालमा पुल प्रविधिको आधुनिकीकरणलाई पनि सहयोग पुग्ने गरी आकर्षक पुलहरू बनाउन गरिएको सङ्कल्पलाई साकार पार्ने काममै केन्द्रित रहेको पूर्वअर्थमन्त्री पौडेलको भनाइ छ । नेता पौडेलकै नेतृत्वमा पुल प्रविधिको आधुनिकीकरण र सडकमा सुरुङ मार्गको सोंचलाई बुटवलमा साकार पार्ने कामले मूर्तरुप लिने भएको छ । तिनाउमा सिग्नेचर पुल बन्नेछ भने सिद्धबाबा सडकखण्डमा यसक्षेत्रको पहिलो सुरुङ मार्ग बन्नेछ । सुरुङ मार्ग भने नेपाल आफैले बनाउने गरी स्रोत सुनिश्चित भएको थियो । यसको सोंच, सङ्कल्प र स्रोत अर्थ मन्त्रालयमार्फत स्रोत सुनिश्चित गराउने लगायतका काममा नेता पौडेलले नै अगुवाई गर्नुभएको छ ।

तिनाउमा बन्दैछ आकर्षक सिग्नेचर पुल

विश्व बैंकको सहयोगमा बुटवलको तिनाउ नदीमा आकर्षक र आधुनिक सिग्नेचर पुल बन्दैछ । भारतीय कम्पनीले आर्किटेक र स्वीस दातृ निकायले स्ट्रक्चर डिजाइन गरिरहेको छ । यी दुबै कम्पनीका प्रतिनिधिले विभिन्न चरणमा बुटवलको वस्तुस्थितिको अवलोकन गरिरहेका छन् । पहिलो चरणको छलफल भएको करिब एक वर्षपछि विश्व बैंकको टोलीसहित परामर्शदाताहरूले पुलको सम्भावित क्षेत्रको फेरि अवलोकन गरेका छन् । नेपालको पुल महाशाखाले प्रस्ताव गरेका १० मध्ये पहिलो काम बुटवलमा चलिरहेको छ । बुटवलसंगै नारायणी नदीमा बन्ने पुलका बारेमा पनि काम अगाडि बढिरहेको महाशाखाले जनाएको छ ।

पौडेलको अगुवाईमा अगाडि बढेका प्रोजेक्टहरूमध्ये कतिपय साकार भइसकेका छन् भने केही साकार हुने प्रक्रियामै छन् । अर्थमन्त्री बन्दा राजमार्ग विस्तार, तराईका सदरमुकाम जोड्ने सडक विस्तार र तिनाउमा हरियाली क्षेत्र, फुटपाथसहित चार लेनको आकर्षक सिग्नेचर पुललगायतका ड्रिम प्रोजेक्टहरूको परिकल्पना गर्नुभएको थियो । परिकल्पना गरे बमोजिमका कामका लागि आफै अर्थमन्त्री हुँदा स्रोतको समेत सुनिश्चित गर्नुभयो । नेता पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर यसक्षेत्रको समग्र विकासका लागि लिएका लक्ष्यका बारेमा विज्ञ तथा दातृ निकायसँग सङ्कल्प शेयर गर्दै सहकार्यको आह्वान गर्दै आउनुभएको थियो ।

पछि त्यसलाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निष्कर्षमा पुर्याएको हो । त्यतिबेला पौडेल नै अर्थमन्त्री हुनुहुन्थ्यो । उक्त प्रस्तावलाई विश्व बैंकले स्वीकार गर्दै सिग्नेचर पुलका लागि तयार भएको हो । बुटवलको तिनाउमा ‘सिग्नेचर’ पुल निर्माणको सुरुआतको लागि विश्व बैंकले सहयोग गर्ने घोषणा केही वर्षअघि नै गरेको थियो । चार पुलका लागि विश्व बैंकले चार अर्ब लगानी गर्ने सुनिश्चितता गरिसकेको छ । ती चारमध्ये पनि पहिले बुटवलबाटै काम सुरु भएको छ ।

तिनाउ–दानवमा पुलैपुल

तिनाउ र दानव नदीका दुबै किनारामा बाक्लो बस्तीको विकास भएको छ । तर, पुलको अभावमा ती बस्तीहरू मुख्य बजारसँग जोडिन पाएका थिएनन् । नेता पौडेलको अगुवाईमा यहाँका बस्तीलाई जोड्ने मात्रै होइन, छिमेकका पालिकाहरूलाई पनि सञ्जालमा जोड्ने, विमानस्थल र लुम्बिनीसँग जोड्नेगरी पुल र सडक सञ्जालका निम्ति आवश्यक बजेट विनियोजन गर्नुका साथै अगुवाई नै गर्नुभएको छ । नेता पौडेलकै पहलमा तिनाउ र दानव नदीमा डेढ दर्जन जति पुलको निर्माण सम्पन्न भइसकेको छ । तिनाउमा नयाँ, आकर्षक र आधुनिक प्रविधिको पुल बनाउनुपर्छ भनेर सुरुदेखि नै लागेको र विश्व बैंकबाट आर्थिक स्रोतको ग्यारेन्टी भएपछि बुटवललाई नै पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाइएको पौडेलको भनाइ छ । विश्व बैंकको टोली र परामर्शदाताको टोलीले सुरुदेखि नै पूर्वअर्थमन्त्री पौडेलसँग समन्वय र छलफल गर्दै आएको थियो ।

अन्तर्राष्ट्रियस्तरको भारतीय कम्पनी न्यू सिनर्जी कन्सल्टिङका सञ्जय सक्सेनाले पुलको डिजाइनमा कन्सलटेन्टको काम गरिरहेका छन् । सक्सेनाले डिजाइनलगायतका बारेमा सुझाव लिने काम भइरहेको र अब अन्तिम चरणमा पुगेको प्रतिक्रिया दिनुभयो ।

सिग्नेचर पुलको डिजाइन अन्तिम चरणमा

अहिले तयार भएको प्रारम्भिक चरणको आर्किटेक र स्ट्रक्चर डिजाइनका बारेमा सुझाव लिने र वस्तुस्थितिका बारेमा सरोकारवालाहरूसँग अर्को चरणको छलफल गरेको छ । आधुनिक पुलको आकर्षक डिजाइन पारेर त्यसलाई मूर्त रुप दिन नेपाली र विदेशी इन्जिनियरहरूले अहिले बुटवलका सरोकारवालासँग परामर्श तीब्र गरिरहेका छन् । चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन भइरहेको छ । डिजाइनलाई अन्तिम रुप दिन पुलविज्ञहरू र विश्व बैंकका प्रतिनिधिले यहाँका जनप्रतिनिधि र सरोकारवालासँग परामर्श गरेका हुन् ।

भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक डिजाइनको प्रारम्भिक खाका तयार पारेर सोही आधारमा सुझाव सङ्कलन गरेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरिरहेको छ । यी दुवै कामको समन्वय नेपाल सरकार सडक विभागको पुल महाशाखाले गरिरहेको छ । उक्त महाशाखाका प्रमुख इन्जिनियर उमेशविन्दु श्रेष्ठले सिग्नेचर पुल बनाउन प्रस्ताव गरिएका चार ठाउँमध्ये बुटवलबाटै पहिलो काम सुरु भएको, कन्सेप्ट डिजाइन पनि अन्तिम चरणमा पुगेको र आवश्यक स्रोतको समेत सुनिश्चितता भइसकेको जानकारी दिनुभयो ।

नेकपा (एमाले) का अध्यक्ष ओली नेतृत्वको सरकारले ०७५ मा नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने पुलहरू बनाउन विश्व बैंकलाई ऋण उपलब्ध गराउन प्रस्ताव गरेको थियो । विश्व बैंकले सिग्नेचर पुल निर्माणका लागि सहुलियत ब्याजदरको ऋण दिन सहमति जनाएको थियो । राजनीतिक अस्थिरता र कोभिड महामारीलगायतले प्रभावित भएको यो परियोजना भने ढिलोगरी अगाडि बढाइएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा रहेको तिनाउ नदीको हालको पुललाई विस्थापित गरेर जितगढी, त्यस आसपासमा रहेको सम्पदा संरक्षणका योजनालाई समेत प्रवद्र्धन गर्नेगरी पुलको डिजाइन गर्न यहाँका जनप्रतिनिधिले सुझाव दिएका छन् ।

बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक विस्तार हुँदै

राजमार्ग विस्तारअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटासम्मको एउटा चरण र त्यसदेखि पश्चिम महेन्द्रनगर गड्डाचौकीसम्मका तीन चरण गरी राजमार्ग विस्तार गरेर अन्तर्राष्ट्रिय स्तरको बनाउने सङ्कल्प अध्यक्ष ओली नेतृत्वको सरकारले गरेको थियो । यसलाई चारदेशीय परियोजना बीबीआइएनले अगाडि बढाएको छ । पुल महाशाखाबाट यसको सर्भे भइरहेको महाशाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।

यो कामको सङ्कल्प पनि अर्थमन्त्री बनेका बेलामा नेता पौडेलले नै गर्नुभएको थियो । खासगरी बुद्ध जन्मस्थल नेपाल र लुम्बिनीलाई केन्द्रमा राखेर बुद्धसँग सम्बन्धित नेपालका क्षेत्र र छिमेकी भारतका समेत क्षेत्रलाई एउटै सडक सञ्जालमा जोड्नेगरी बौद्ध पथ नाममा सडक विस्तार गर्ने सोंचका साथ काम भइरहेको छ । तिनाउ नदीमा बन्ने सिग्नेचर पुललाई पनि सोही रोड कनेक्टिभिटीको एउटा माध्यमका रुपमा लिइएको छ । ‘नेपाल स्ट्राटेजी रोड्स कनेक्टीभिटी एण्ड ट्रेड इम्प्रूभमेन्ट प्रोजेक्ट’ तथा नेपाल–भारत क्षेत्रीय व्यापार र यातायात प्रोजेक्टअन्तर्गत निर्माण गरिँदैछ ।

चार देश जोड्ने सडक सञ्जाल परियोजना

नेपाल–बंगलादेश–भुटान र भारत जोड्ने गरी रोड कनेक्टिभ परियोजनाका बारेमा समेत विज्ञहरूले काम गरिरहेका छन् । यी देशमा रहेका अन्तर्राष्ट्रिय स्तरका सडकहरूलाई थप विस्तार र व्यवस्थित गर्दै लिंक रोडमा जोड्ने तयारी छ । नेपालको प्रमुख राजमार्गका रुपमा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई विस्तार गर्ने कामको सुरुआत भइसकेको छ । बुटवल–नारायणघाट एक्सप्रेस–वेका रुपमा काम सुरु भएको छ भने बुटवल–गोरुसिंगे–चन्द्रौटा खण्डको विस्तारका लागि अब ठेक्काको प्रक्रिया अगाडि बढिसकेको छ । यी दुबै कामको सङ्कल्प र योजना अगाडि बढाएका एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले भविष्यमा अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी राजमार्ग विस्तारको काम सुरु भएको बताउनुहुन्छ ।

पूर्व–पश्चिम राजमार्गलाई विस्तार गर्दै सार्कस्तरीय सडक सञ्जालमा जोड्ने सोंचसहित रोड कनेक्टिभिटीको काम भइरहेको छ र यसले नेपालसहित भारत, बंगलादेश र भुटानका बीचमा सडक सञ्जाल जोड्ने छ । विज्ञहरूसँगको परामर्शका क्रममा नेता पौडेल, अर्का नेता लिला गिरी, त्यसबेलाका बुटवलका मेयर शिवराज सुवेदी र नेता भोजप्रसाद श्रेष्ठसमेत सहभागी हुनुहुन्थ्यो । विश्व बैंकका यातायात विज्ञ कोसिने कोऊसहितका विज्ञहरूको नेतृत्वमा सडक सञ्जालको प्राविधिक र सम्भाव्य अध्ययन भइरहेको छ । नेपालका राजमार्ग र यहाँका सम्भावनाका बारेमा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरूको टोलीले विशेष चासो दिएको बताइएको छ ।

एमालेको आधिकारिक वेबपोर्टलबाट साभार 



प्रतिक्रिया दिनुहोस्