कैलाली, कात्तिक ७ । घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका भाँडा बनाउने पेसा धानिरहेका छन् ।
१० वर्षको उमेरदेखि माटाका भाँडा बनाउन थालेका ६० वर्षीय दशरथ कुमालका लागि पुर्खाको सम्पत्ति भनेकै माटाका भाँडा बनाउन बुवाबाट सिकेको त्यही सीप हो । उनले भने, “मेरो सम्पत्ति भन्नु नै बुवाबाट सिकेको यही सीप हो, सकुन्जेल बनाउँछु ।”
बगुलियाकै ६६ वर्षीय दोङ्गाली कुमालको दैनिकी पनि माटाका भाँडा बनाउनेमै बित्छ । नजिकैबाट डल्लबमा माटो ल्याउनु, चक्रमा राख्नु अनि विभिन्न आकारका खुत्रुके, घैँटा, गमलालगायत भाँडा तयार पार्नु दोङ्गालीको दैनिकी बनेको छ । उनले पनि बुवाबाटै १२ वर्षको उमेरदेखि माटाका भाँडा बनाउन सिकेका हुन् ।
उनले भने, “अब यो पेसा अपनाउन छोरा नातिले चाहेका छैनन् । हाम्रो शेषपछि यो पेसा पनि मर्छ ।” पुख्र्यौली पेसा, सीप र कलालाई नयाँ पुस्ताले अँगाल्न नचाहेको गुनासो उनको छ । नयाँ पुस्ताले अन्य पेसा र व्यवसाय अँगालेपछि पुख्र्यौली पेसा लोप हुने चिन्ता कुमाल समुदायमा छ ।
दशरथ कुमालले भने, “बजारमा प्लास्टिककै भाँडाको व्यापार छ । घरघरमा प्लास्टिककै प्रयोग छ । त्यही कारण माटाका भाँडाको पेसा सङ्कटमा परेको हो ।” लम्की, बौनिया, मसुरियासम्म माटाका भाँडाको माग छ तर घरघरमा लगेर बेच्न नयाँ पुस्ताले लाज मान्ने गरेको अनुभव दोङ्गालीको छ । पहिलो गाउँगाउँमा लगेर बेचिने माटाका भाँडा अचेल माग आएपछि मात्र दोङ्गालीले भाँडा बनाउने गरेका छन् ।
भजनी नगरपालिकामा पनि ५० घरपरिवार कुमालेको बस्ती रहेको छ । त्यहाँ पनि दुई चार घरबाहेक सबैले पुख्र्यौली पेसा छोडेको भजनी नगरपालिकाका पूर्वप्रमुख छाया देवकोटाले बताए ।
अहिले भारतीय बजारबाट पनि माटाका भाँडा भित्रिने गरेका छन् । नेपाली माटाका भाँडा उत्पादन गर्ने कुमाल जातिलाई राज्यको कुनै पनि सहयोग नभएका कारण नेपाली माटाका भाँडा अलि महँगो पर्छ । गोरखापत्र दैनिकबाट