काठमाडौं, ८ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूले आफ्नो पक्षमा मत कसरी प्राप्त गर्न सकिन्छ भनेर जनताको मन जित्न विभिन्न प्रयास गरिरहेका छन् ।
निर्वाचन आयोगको आचारसंहिता, २०७९ को दफा १३ अनुसार मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न पाइने भएपछि हाल उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त देखिएका छन् ।
आचारसंहिताअनुसार यही कात्तिक १७ गतेभन्दा अघि कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा गर्न तथा सञ्चारमाध्यममा कुनै प्रकारको प्रचार–प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाउँदैनन् ।
यस निर्वाचनमा चुनावी प्रचारको अवधि कम भएर उचित प्रचार–प्रसार गर्न नपाइएको उम्मेदवारको गुनासो रहे पनि तिनै उम्मेदवारले छोटो समय प्रचार–प्रसार अवधि हुँदा आफ्नो खर्च बचतसमेत भएको बताउने गरेका छन् ।