Logo

प्रधानमन्त्रीका लागि योग्य छुः सिंह (भिडिओसहित)



काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नेता एवं काठमाडौं-१ मा गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि चौथो पटक उम्मेदवारी दिएको बताएका छन् ।

‘पहिलो र दोस्रो संविधानसभा अनि २०७४ निर्वाचनमा म काठमाडौं १ बाट निर्वाचित भएँ । कांग्रेसको नेतृत्वमा संविधान त बन्यो । तर त्यसपछिको सरकार अर्कै पार्टीको नेतृत्वमा बन्यो, संविधान कार्यान्वयनमा समस्या आयो र संघीयतामाथि नै प्रश्न उठ्यो । म संविधान कार्यान्वयनका लागि चौथो पटक उठेको हुँ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सिंहले भने ।

तीन पटकसम्म एक्लै लडेर जितेका सिंह अहिले गठबन्धनको पनि साथ भएकाले आफ्नो जितमा ढुक्क देखिन्छन् । उनले भने, ‘मैले जनताको मत मात्र होइन मन पनि जितेको छु । म सहज पहुँचमा छु । जनताको सामीप्यता झन् बढेको छ । ९६ प्रतिशत बाटो पिच भइसकेको छ । खानेपानीका लागि मेलम्चीका साथै अन्य वैकल्पिक स्रोतमा पनि जान पटक पटकजोड दिएका छौं । सामुदायिक विद्यालयको पूर्वाधार विकास, ९ देखि १२ का विद्यार्थीलाई शिक्षासँगै सीप र प्रविधिमा जोड्दै छु ।’

पाँच दलीय गठबन्धनको बहुमतमा कुनै शंका नभएको नेता सिंहले बताए । राजकीय पदहरुको बाँडफाँटमा समस्या नहुने उनको विश्वास छ । उनले थपे, ‘गठबन्धनले सिट कसरी मिलाउला भनेका थिए, त्यो मिल्यो । राजकीय पदहरु पनि सजिलै व्यवस्थापन हुन्छ ।’

तपाईं पनि प्रधानमन्त्रीको दाबेदार हो भन्ने प्रश्नमा नेता सिंहले त्यसका लागि आफू योग्य रहेको दाबी गरे । उनले भने, ‘पहिले त संसदमा निर्वाचित भएर आउनुपर्यो । संसदीय दलले प्रक्रियाअनुसार नेता छान्छ अनि मात्र को प्रधानमन्त्री हुने भन्ने थाहा हुन्छ । संसदीय दलको उपनेता भइसकेको, नेताका लागि प्रतिस्पर्धा गरेको अनि पार्टीको उपसभापति, महामन्त्रीका साथै पटकपटक मन्त्री, उपप्रधानमन्त्री भइसकेकाले म प्रधानमन्त्रीका लागि योग्य छु । के गर्दा राम्रो हुन्छ, म त्यो काम गर्छु । अवसर पाएँ भने देश चलाउन सक्छु ।’ इमानदार र नियत सफा भएको नेताले नेतृत्व गर्दा देश बदल्न सकिने उनको जिकिर छ ।

आफू गणेशमान सिंहको छोरा भएर भन्दा पनि आफ्नो क्षमतामा अघि बढेको सिंहले बताए । उनले भने, ‘आफ्नो क्षमता नभईकन राजनीतिमा कोही अघि बढ्न सक्दैन । म गणेशमानपुत्रको मात्र भएर राजनीतिमा अघि बढेको होइन । सुपुत्र त अरुका पनि थिए, तिनीहरु अहिले कहाँ छन् ?’

 



प्रतिक्रिया दिनुहोस्