पण्डित गोपीचन्द्र अधिकारी-
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म चल्ने यमपञ्चकको आज अन्तिम दिन । कागतिहारदेखि भाइटीकासम्मको यस पावन पर्व यमराज र बहिनी यमुनाको कथासँग जोडिएको छ । व्यस्त यमराजले धर्मराज र चित्रगुप्तलाई आफ्नो काम जिम्मा लगाएर पृथ्वीबासी बहिनीको हातबाट टीका लगाएका थिए ।
त्यसकै स्मरणस्वरुप दाजुभाइको मनोकांक्षा पूरा होस्, दिदीबहिनीसँगको सद्भाव रहिरहोस् र पुनर्मिलन भइरहोस् भनेर भाइटीका लगाउने चलन छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्छन् ।
दिदीबहिनीको हातबाट टीका र प्रसादी लिँदा सम्बन्धमा सामीप्यता बढ्छ । प्रगाढता थपिन्छ । आफ्ना दिदीबहिनी नभए फूपु दिदी, मामाका छोरीसँग पनि टीका लगाउन सकिन्छ । त्यो पनि नभए यमराज र यमुनाको पूजा गर्न सकिन्छ ।
यमपञ्चकको पहिलो दिन कागतिहारले प्राणीलाई अप्ठयारो पार्ने किराहरु र फोहोर खाएर वातरणीय सन्तुलन मिलाउने कागको महत्तव दर्शाउँछ भने कुकुर तिहारले मानवताको परिचय दिन्छ । दैनिक जीवनलाई सहज बनाउने गाईगोरुको पूजाको पनि आफ्नै विशिष्टता छन् ।
तिहारका शास्त्रीय प्रभाव र धार्मिक मान्यता अथाह छन् । यसका पुरातन र भ्रामक प्रसंग मात्र छैनन्, वैज्ञानिक आधार पनि छन् । ढोकामा ओखर फुटाउने, तेल लगाएर पुजन गर्ने, जलले तीनपटक परिक्रमा गर्ने चन्द्रमालाई सम्मुख बनाएर टीका र प्रसादी लिनुलाई गलत भन्न सकिँदैन ।
त्यसो त तिहारमा तडकभडक र तामझाम पनि बढेको छ । यसले आर्य र सनातन समाजमा धार्मिक विकृति ल्याएको छ । पहिले क्यामुनको पातमा घिउको बत्ती बाल्ने चलन थियो । अहिले अनेक किसिमका झिलिमिली विद्युतीय बत्ती बाल्न थालिएको छ । तडकभडक पनि बढेको छ ।
शास्त्रीय प्रसंगमा मात्र नभएर तिहारले अर्थतन्त्रमा पनि योगदान गरेको छ । सामान्यतः प्रकृतिको अनुपम उपहार फूलको व्यापारले किसानलाई वर्षभरि नै परिवार धान्न सघाउँछ । पुष्प, वस्त्र, अलंकार, अन्न अन्नादि, मिष्ठान्न व्यवसाय पनि चम्किन्छन् । यसकारण अर्थतन्त्रमा यो पर्व विशेष महत्व छ ।
नेपाल पञ्चांग निर्णायक समितिले पश्चिमाभिमुख भएर आज बिहान ११ः३७ बजे टीकाको उत्तम साइत निकालेको छ । तर त्यसअघि र पछि पनि टीका लगाउन कुनै छेकबार छैन ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा आधारित