गण्डकी, १२ कात्तिक । कास्कीको सङ्घीय निर्वाचन क्षेत्र नं १ परिणाम बदलिइरहने क्षेत्रका रुपमा चासो र चर्चा कमाएको छ । लेखनाथका सात तालसँगै सिक्लेस, याङ्जाकोट, रुपाकोटलगायतका गन्तव्यले यहाँको पर्यटकीय पहिचान र ख्याति बढाएको छ । विगतका निर्वाचन हेर्दा परिणाम बदलिइरहेको यस क्षेत्रमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा नतीजा आफ्नो पक्षमा पार्ने लक्ष्यसाथ उम्मेदवार चुनावी अभियानमा जुटेका छन् ।
यसअघिको आमनिर्वाचनमा नेपाली कांग्रेस र वाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा भएकोमा बाम गठबन्धनले विजय हासिल गरेको थियो । अहिले भने उक्त समीकरण फेरिएर कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितका पाँच राजनीतिक दलको गठबन्धन एकातर्फ छ भने नेकपा एमाले, अन्य दल तथा स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
चुनावी परिणामलाई आफ्ना पक्षमा पार्न यतिखेर उम्मेदवार गाउँ पसिसकेका छन् । गाउँ बस्तीमा यतिखेर धान भित्र्याउन सर्वसाधारण लागिरहेका अवस्थामा घरदेखि खेतका खलासम्म उम्मेदवारको सक्रियता बढेको छ । पोखराको खुलेको मौसमका कारण तालतलैयाका छेउछाउ र पदमार्गमा पर्यटक देखिएका छन् भने उम्मेदवारलाई भने भोट तान्ने गरी मतदाता रिझाउन भ्याइनभ्याइ छ ।
वर्षभरि दुःख गरेर फलाएको धान थन्क्याउने हतारोमा रहेका सर्वसाधारणसँग हात जोड्दै पुगेका उम्मेदवारले स्थानीय समस्या र आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।
यस पटकको निर्वाचनमा कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल उम्मेदवार हुनुहुन्छ भने नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष मनबहादुर गुरुङ उम्मेदवार हुन् । प्रदेशसभा सदस्यतर्फ प्रदेशसभा (क) र (ख) मा गठबन्धनका तर्फबाट क्रमशः नेकपा माओवादी केन्द्रका दीपक कोइराला र नेपाली कांग्रेसका दीपक गुरुङ (माइला) उम्मेदवार हुनुहुन्छ भने नेकपा एमालेका खगराज अधिकारी र बेदबहादुर गुरुङ उम्मेदवार हुन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि यस क्षेत्रमा कूल एक लाख १० हजार सात सय १५ मतदाता छन् । जसमध्ये प्रदेशसभा (क) मा ५८ हजार चार सय ४५ र (ख) मा ५२ हजार दुई सय ७० मतदाता छन् । सो क्षेत्रमा १३४ मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र नम्वर एकका निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले बताउनुभयो । यस क्षेत्रमा प्रनिधिसभामा कूल १४ जना र प्रदेशसभा क र खमा आठ आठजना उम्मेदवार रहेका छन् । विकासको पर्याप्त सम्भावना बोकेको यस क्षेत्रमा रुपा र मादी गाउँपालिका, पोखरा लेखनाथ महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ नं वडा पर्दछन् ।
यस क्षेत्रको प्रदेश (क) मा रुपा गाउँपालिका र पोखरा महानगरका २६, २७, २९, ३०, ३१ र ३२ नं वडा पर्दछन् भने प्रदेश (ख) मा मादी गाउँपालिका र महानगरपालिकाका १०, १२, १३, १४ र २८ नं वडा छन् । यहाँका मादी र रुपा गाउँपालिका जलविद्युत्, कृषि तथा पर्यटनमा धेरै सम्भावना बोकेर पनि अपेक्षित विकास नभएका क्षेत्र हुन् भने महानगरका वडा पनि विकास दृष्टिले अझै ओझेलमा छन् ।
पर्यटकीयरुपमा आकर्षक गन्तव्य सिक्लेस, ताङ्तिङ, याङ्जाकोट, नागिधार, वारचोक, भाचोक, तप्राङलगायतका पर्यटकीय गन्तव्य यही क्षेत्रमा पर्दछन् । त्यस्तै कास्की र लमजुङको सिमानास्थित तमुहरूको उद्गमस्थल क्होलासोंथर, दूधपोखरी यहाँका आकर्षण हुन् । पदयात्रा पर्यटनमा पनि उत्तिकै महत्वपूर्ण यस क्षेत्रमा मादीको सिक्लेसदेखि मनाङ र लमजुङसम्म, त्यस्तै नागिधार, भाचोक, वारचोक, याङ्जाकोट, ताङ्तिङदेखि सिक्लेससम्मका पदमार्ग पर्यटकलाई आकर्षित गर्न सकिन्छ । विश्वकै सबैभन्दा होचो स्थानमा रहेको दाबी गरिने कफुचे हिमताल पनि यही क्षेत्रमा पर्दछ ।
निर्माणाधीन सिक्लेस–सिसाघाट, कसेरी–भैँसे–थुमाकोडाँडा, राखी–मिजुरे–पोसी, सैमराङ–भाचोक–नागिधार–पोसी, काहुँखोला–दूधपोखरी सडक, काहुँखोलादेखि ताङ्तिङलगायतका सडकको स्तरोन्नतिलाई यस क्षेत्रका स्थानीयले उम्मेदवारसँग विकासको प्रतिबद्धता खोजेका छन् ।
दुर्लभ पाँचऔँले, नीरमसी, सतुवा, वन लसुनजस्ता जडीबुटी पाइने यहाँ लेकाली भेगमा पाइने टुसालाई आम्दानीको महत्वपूर्ण स्रोत बनाउन सकिन्छ । रुपातालको पर्यटकीय सम्भावनासँगै यहाँबाट जलविद्युत् निकाल्ने गरी सम्भाव्यता अध्ययनको पहल अघि बढिसकेको छ भने व्यावसायिक माछापालन पनि आयआर्जनका लागि महत्वपूर्ण विकल्प बन्ने देखिन्छ ।
यहाँका हंसपुरको स्याक्लुङ्कोट, इन्द्रगुफा, रूपाकोटको चिसापानी, भिरचोक कोट, बराहाथोकको कालभैरव, तल्लो गगनगौंडाका राधाकृष्ण, कालिका मन्दिरलगायतलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेक र तनहुँ, लमजुङ हुँदै कास्की जोडिने मिर्लुङकोट पदयात्रा मार्ग पनि यसै क्षेत्रको पर्यटकीय गन्तव्य हो । तालबेँसी, खाल्टे खोला, बृदिम, आपुखोला, थुम्सीकोट बेँसीलगायत फाँटमा व्यावसायिक कृषिको विकासका पर्याप्त सम्भावना छन् ।
त्यस्तै शिशुवा देउराली हुँदै सिसाघाट, रूपाकोट थुम्की, सात ताल जोड्ने लिंकरोड र बेगनास भोर्लेटारलगायतका सडक यहाँका चुनावी मुद्दा बन्दै आएका छन् । महानगरका वडा अधिकांश ग्रामीण भेगमा नै रहेकाले तिनको विकास गर्न उम्मेदवारसँग प्रतिबद्धता खोजिने विजयपुरका मतदाता राजेश घिमिरेले बताए
“सम्भावना रहेर पनि ओझेलमा परेका कास्की क्षेत्र नं १ का बस्तीको विकासका लागि उम्मेदवारसँग प्रतिबद्धता खोज्ने बेला आएको छ”, उनले भने, “यहीँका पूर्वाधारको संरक्षण र विकास गर्दै रोजगारीका अवसर सिर्जना गर्न सक्ने किसिमको नेतृत्व चुन्नु अपरिहार्य छ ।”
कृषि पर्यटनमा क्रान्तिका माध्यमबाट देशको समृद्धि र शान्तिको बाटो अँगाल्न सकिने बताउने गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरदत्त बराल ज्ञान, उद्यमशील र सीपको शिक्षासहित विद्यालय सुधार गर्ने योजनाका साथ चुनावमा होमिएको बताउछन् ।
समृद्धिको निकासका लागि गुणस्तरीय र योजनाबद्ध विकास आवश्यक रहेको बताउँदै उहाँले राजनीतिक शुद्धतासँगै संसद्को गरिमा र सांसदको मर्यादा कायम गराउने कुरा पनि आफ्नो प्रतिबद्धतामा रहेको बताए । कास्की क्षेत्र नं १ का हरेक सम्भावनालाई उजागर गर्दै समृद्धि र विकासका लागि लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गरे । जनताका हरेक समस्या र आवश्यकतालाई सम्बोधन गर्ने कुरालाई प्राथमिकताका साथ अघि बढाउने उनले बताए ।
नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङले हाम्रो मुख्य शत्रु गरिबी रहेको बताउँदै त्यसको अन्त्यका लागि आफ्नो उम्मेदवारी भएको बताए । कास्की क्षेत्र नं १ प्राकृतिकरुपमा सम्पन्न रहेको बताउँदै उनले यसको संरक्षण र उपयोगमा जोड दिने बताए । गाउँ र सहरबीचको दूरी कम गर्नुका साथै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र आफ्नो प्राथमिकतामा रहने उनको भनाइ छ ।