Logo

रोचक प्रतिस्पर्धामा पाण्डे र पौडेल



काठमाडौं, कात्तिक १४ । पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे र अर्थशास्त्री विश्वनाथ पौडेलले अर्थतन्त्रसम्बन्धी विभिन्न बहसमूलक कार्यक्रममा वक्ताका रूपमा धेरै मञ्च ‘सेयर’ गरेका छन्। त्यस्ता अवसरहरूमा उनीहरूबीच सौहार्दपूर्ण सम्बन्ध देखिन्थ्यो। तर अहिले यी दुवै फरकफरक राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिएका छन्।

यसअघि उनीहरूबीच जति नै सौहार्दतायुक्त र मैत्रीपूर्ण सम्बन्ध भए पनि चुनावी मैदानमा भने एकले अर्कालाई हराउने रणनीतिका साथ लाग्नेमा कुनै शंका छैन।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पाण्डे र र अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षबाट हालसालै राजीनामा दिएका पौडेल चितवन क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्दैछन्। पाण्डे र पौडेल दुवै नेपालको अर्थतन्त्र र अर्थशास्त्रमा गहिरो ज्ञान भएका व्यक्तिका रूपमा परिचित छन्।

पाण्डेले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारका पालामा अर्थमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए। अर्थशास्त्री पौडेल पनि अर्थतन्त्रका विषयमा गहिरो ज्ञान भएका व्यक्ति मानिन्छन्।

अर्थशास्त्री पौडेल नेपाली कांग्रेसका तर्फबाट र पूर्वअर्थमन्त्री पाण्डे एमाले उम्मेदवार बनेका हुन्। चितवन १ मा यी दुईको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्