Logo

पृथ्वीनारायण शाहको सालिक तोड्नु गलत कदम थियोः प्रचण्ड



काठमाडौं, १४ कात्तिक । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पृथ्वीनारायण शाहको नेपाल निर्माणको कदमलाई भौतिकवादी दृष्टिकोणले हेर्नुपर्ने औंल्याएका छन् ।
‘म गोरखाको अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेकमा बसेर भन्दै छु– नेपालमा दुइटा कदम विशेष छन् । पहिलो, पृथ्वीनारायण शाहको नेपाल निर्माणको कदम र दोस्रो, मेरो नेतृत्वमा गणतान्त्रिक आन्दोलन । मैले गणतन्त्रको सबै तयारी गोरखामा बसेर गरेको हुँ । पृथ्वीनारायण शाहको कदम पनि यहींबाट सुरु भएको हो । उनको कदमलाई भौतिकवादी दृष्टिकोणबाट हेर्नुपर्छ,’ पत्रकार ऋषि धमलाले गरेको विशेष संवादमा गोरखा २ बाट उम्मेदवारी दिएका प्रचण्डले भने ।
पृथ्वीनारायण शाहको सालिक तोड्नु गलत कदम भएको उनले स्वीकार गरे । प्रचण्डले थपे, ‘पृथ्वीनारायण शाहको बलियो राज्य बनाउने कदम ऐतिहासिक आवश्यकताद्वारा निर्देशित हो । भौतिकवादी दृष्टिबाट हेर्दा भुरेटाकुरे राज्य प्रगतिशील कदम हो । त्यो सकारात्मक कदम हो । जनयुद्धका क्रममा पृथ्वीनारायणको शाहको सालिक तोड्न मैले भनेको थिइनँ । त्यो गलत कदम थियो ।’
उनले पृथ्वीनारायण शाहको फौजीकला र आफ्नो फौजी रणनीतिमा ठूलो तालमेल भएको पनि दाबी गरे । प्रचण्डले भने, ‘उनको फौजीकला र प्रचण्डको रणनीतिमा ठूलो तालमेल छ । यसबारे मैले लामो लेख पनि लेखेको छु ।’
पृथ्वीनारायणलाई सम्मान गर्नुपर्छ भन्नुको तात्पर्य राजसंस्था सधैं रहनुपर्छ भन्ने पनि नभएको उनको जिकिर छ । प्रचण्डले थपे, ‘राम्रो कुरालाई नराम्रो भन्नु हुँदैन । हामीले सामन्तीतन्त्रलाई फाल्नुपर्थ्र्यो, हामीले फाल्यौं । गोरखाका साथीहरुले गोरखा नगरपालिकाको पुरानै नाम पृथ्वीनारायण शाह नगरपालिका राख्ने, पृथ्वीनारायण शाहको सालिक राख्ने र पृथ्वी जयन्ती मनाउने कुरा राख्नुभएको छ, दलहरुबीच सहमति भयो भने त्यसमा मेरो सहयोग रहन्छ ।’



प्रतिक्रिया दिनुहोस्