काठमाडौं, १४ कात्तिक । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखाबाट समृद्धि र सुशासनको महाअभियान सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘म एउटा जिल्ला वा चुनाव क्षेत्रमा बस्ने नेता होइन । पहिलो पटक जनयुद्धको केन्द्र रोल्पा र जनआन्दोलनको केन्द्र काठमाडौंबाट उठें । त्यसपछि मधेसमा जानुपर्छ भनेर सिरहा गएँ । गृहजिल्ला भएकाले चितवन पनि गएँ । मैले के गरें, के गरिनँ, जनताका अगाडि छर्लंग छ । यसपटक म गोरखा आउनुको तात्पर्य सुशासन र समृद्धिको महाअभियान थाल्नुपर्छ भनेर हो,’ पत्रकार ऋषि धमलासँगको विशेष संवादमा गोरखा २ बाट प्रतिनिधिसभाको उम्मेदवारी दिएका प्रचण्डले भने ।
आर्थिक विकासलाई गति दिन सकिएन भने राजनीतिक परिवर्तन धरापमा पर्ने जोखिम रहेको पनि उनले स्वीकार गरे । प्रचण्डले थपे, ‘नेपालमा राजनीतिक आन्दोलन धेरै भए । ठूलो घोषणा र परिवर्तन भए । तर आर्थिक विकास नभएकाले कुनै पनि राजनीतिक परिवर्तन दिगो भएन । विकासको नयाँ मोडल गोरखाबाट दिन सकिन्छ ।’ साथै उनले गोरखामा चुनाव लड्दा आनन्दानुभूति गरेको पनि बताए ।
आफू दुईचोटि प्रधानमन्त्री हुँदा कसैले पनि भ्रष्टाचारको विषयमा औंला नउठाएको दाबी पनि उनले गरे । प्रचण्डले भने, ‘पहिलो पटक म नौ महिना प्रधानमन्त्री हुँदा भ्रष्टाचारबारे कसैले लेखेन । किनभने जनयुद्धको रापतापबाट आएकाले दुई नम्बरी काम गर्ने आँट कसैको थिएन । दोस्रो चोटि प्रधानमन्त्री हुँदाको १० महिनामा पनि भ्रष्टाचार भयो भन्ने ठाउँ दिइनँ । त्यसैले प्रचण्डले मात्र भ्रष्टाचार रोक्न सक्छ भन्ने स्थापित भएको छ । म बाँकी जीवन समृद्धि र सुशासनमा लगाउँछु । मेरो अरु कुनै इच्छा छैन ।’ पाँचदेखि १० वर्षभित्र देशको मुहार फेर्न सकिने आत्मविश्वास लिएको पनि प्रचण्डले सुनाए ।