काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका नेताहरुले सत्ताको दुरुपयोग गरिरहेको कडा आरोप लगाएका छन् । उनले आफूले भने सत्तामा रहँदा कहिल्यैपनि सत्ताको दुरुपयोग नगरेको दाबी गरे ।
आज विहान प्राइम टिभीबाट प्रसारण भएको चुनावी बहस ‘मंसिर ४ महासंग्राम’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले यस्तो बताएका हुन् । उनले भने,‘मैले कहिल्यैपनि सत्तामा हुँदा यसको दुरुपयोग गरेको छैन् । नातावाद, कृपावाद गरेको छैन् । भ्रष्टाचारलाई प्रोत्साहन दिएको छैन् ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेपालमात्रै नभएर विश्वमै गफाडी भएको आरोप लगाए । उनले भने,‘ऋषिजी, नेपालमा मात्रै होईन, विश्वमै सायद केपी ओली भन्दा बढि गफाडी को होला ?’ उनले आफू र प्रचण्डको स्वार्थ भनेको परिवर्तन र संविधान बचाउनु रहेकोले मिलेको बताए ।