बागलुङ, कात्तिक १९ । जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता अनेक आश्वासन बोकेर मत माग्न पुगेका छन् । बिहान–बेलुकाको छाक टार्न मुस्किल परिरहेको माझी समुदायलाई उम्मेदवारले रोजगार दिलाउने आश देखाइरहेका छन् ।
वि सं २०४८ मा बागलुङ–पोखरा राजमार्ग निर्माण गर्दा विस्थापित भएका माझी परिवार एक दशकभन्दा बढी बाङ्गेचौर वरपर छाप्रो बनाएर बसे, त्यहीँ नै गुजारा चलाए । चार वर्षअगाडि सरकारले नियरघाट नजिकै बस्ती निर्माण गरी उनीहरूलाई हस्तान्तरण ग¥यो । धेरैले घरसहित लालपुर्जा पाए तर अझै केही परिवारले पाउन सकेका छैनन् ।
माझी समुदायलाई सडक, खानेपानी, रोजगारलगायतका आश्वासन चुनावैपिच्छे आउँछन् तर काम गर्दैनन् । स्थानीय सोमबहादुर माझीले भने, “चुनावका बेला यो गर्दिन्छौँ, त्यो गर्दिन्छौँ भन्दै दिनदिनै नेताहरू आउनुहुन्छ । चुनाव जितेपछि एक पटक पनि हाम्रो बस्तीमा आउनुहुन्न । काम पनि खासै केही गर्न सक्नुभएन । हाम्रो बस्तीमा धेरै समस्या छन् ।”
उम्मेदवारले चुनावका बेला सडक, खानेपानी र रोजगारको कुरा गरे पनि अहिलेसम्म कुनै पनि वाचा पूरा गर्न नसकेको माझीको गुनासो छ । उनले वर्षौं बितिसक्दा पनि खानेपानीको व्यवस्थापन पूर्ण रूपमा हुन नसकेको भन्दै सडकको अवस्था पनि उस्तै रहेको बताउन्छन् ।
विस्थापित माझी परिवारलाई सरकारले १३ घर निर्माण गरी चार वर्षअगाडि हस्तान्तरण गरेको थियो । उनीहरूले घर पाए पनि स्वास्थ्य, शिक्षा, रोजगार र खानेपानीको राम्रो व्यवस्था हुन नसकेको स्थानीय उमा माझीले बताए । उनले पटकपटक आफूहरूले भोट दिए पनि माझी समुदायमा उम्मेदवार जितेपछि कमै आउने गुनासो गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।