काठमाडौ, कात्तिक १९ । भूतपूर्व गोरखा सैनिकको समस्यामा बेलायत सरकारले थप चासो देखाएको छ। बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यको पहलमा भएको बैठकमा बेलायतका रक्षा राज्यमन्त्री डा एन्ड्रिउ मरिसनले थप चासो व्यक्त गरेका हुन्। यसरी नेपाल सरकार र बेलायत सरकारको उच्च प्रतिनिधिसहित पूर्वगोर्खा सैनिकको समस्या समाधान गर्न बसेको यो पहिलो बैठक हो।
बेलायतको रक्षा मन्त्रालयमा भएको बैठकमा राज्यमन्त्री मरिसनले बेलायत सरकारले यस विषयमा विस्तृत अध्ययन र दरबारसँग परामर्श गरेर अर्को बैठक डाक्ने प्रतिबद्धता जनाएको बेलायतस्थित नेपालको राजदूतावासले जनाएको छ।
बैठकमा नेपाल सरकारका तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्यले भूतपूर्व गोर्खा सैनिकका लागि बेलायतका सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अङ्गभङ्ग भएका तथा मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्यहरूलगायत समाधान गर्न बाँकी रहेका मागका विषयमा बेलायतका रक्षा राज्यमन्त्री मरिसनलाई जानकारी गराएका छन्।
त्यस्तै भूतपूर्व गोर्खा सैनिकहरूका तर्फबाट पूर्वसैनिक जुद्धबहादुर गुरुङले गोर्खा सैनिकले भोगिरहेका समस्याका बारेमा विस्तृत जानकारी गराए। उनीसँगै सैनिक सहचारी महासेनानी रत्नबहादुर गोदार, राजदूतावासका उपनियोग–प्रमुख रोशन खनाल, भूतपूर्व सैनिकहरू पुष्पा राणा घले, धनबहादुर गुरुङ तथा बेलायतका रक्षा मन्त्रालयका उच्चाधिकारी सहभागी रहेको दूतावासले जनाएको छ।