काठमाडौं, १९ कार्तिक । पूनर्जागरण पार्टी र राष्ट्रिय नागरिक पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि संयुक्त भाकल–पत्र सार्वजनिक गरेका छन् । सो पार्टीले ‘दक्ष नागरिक, समृद्ध नेपाल’ को मूल नारा बोकेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुवै पार्टीका पदाधिकारी तथा नेताहरुको उपस्थितिमा चुनावलक्षित उक्त भाकल–पत्र सार्वजनिक गरिएको हो ।
पूनर्जागरण पार्टीका अध्यक्ष तथा आगामी मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधिसभाको लागि काठमाडौं–४ का उम्मेदवार श्यामबाबु गौतमले पूराना दलले हालै जारी गरेका घोषणापत्रलाइए भ्रमको इन्द्रजालको संज्ञा दिएका छन् । उनले आफ्नो दलले चित्र र चरित्र उस्तै बनाउने पनि प्रण गरे । आदर्श, मूल्य र मान्यताको राजनीतिलाई बढावा दिएकोले यसलाई आगामी दिनमा पनि कायम राखिने उनको वचनबद्धता छ ।
उनले भाकलपत्र समृद्ध नेपाल निर्माणको लागि मिसाइल भएको पनि दाबी गरे । भाकलपत्रमा शिक्षा, रोजगार, लोकतन्त्र, सुशासन, विकास, पर्यावरण, वर्ग एवम् पहिचान, विज्ञान, प्रविधि, कला, उद्यम, स्वास्थ्य, स्वतन्त्रता अनि शान्ति, समावेशिता, सहिष्णुता, राष्ट्रवाद र अन्तर्राष्ट्रियवाद सबै विषयलाई युवा पुस्तालाई समेटेर लैजानुपर्ने कुरा उल्लेख गरेको छ । घोषणापत्रमा बोलिएका कुरा पूरा गर्ने पनि प्रण गरिएको छ ।
भ्रष्टाचारी र देशद्रोहीलाई फाँसी दिने कानून ल्याउने, जेल भत्काएर श्रम शिविर बनाउने, सैन्य संगठन सबै खारेज गर्ने, स्वास्थ्य क्षेत्रमा भएको माफियाकरण ध्वस्त पार्नेजस्ता कुरा आफूहरुले अघि सारेको गौतमले जनाए । उनी मैनबत्ती चिन्ह लिएर चुनावी मैदानमा छन् । उनले जनताले देश बेच्ने नेता नचाहेको सुनाए । बरु, बोल्न नजान्ने तर देशभक्ति भएको नेता जनताले खोजेको उनको भनाई थियो ।
कार्यक्रममा रणबहादुर चन्द, कविता भारती, दिनेश राई, कुवेर खड्का, डिजेन्द्र बस्नेत, बालकुमार आचार्यले आ–आफ्नो भनाई राखेका थिए । रणबहादुर चन्दले प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राखेका थिए ।
उनले मैनबत्ती चिन्ह लिएर चुनावी मैदानमा रहेका सबै उम्मेदवारहरुलाई विजयीको शुभकामना दिए । उनले गौतमले अघि सारेका भाकलपत्र आगामी दिनमा साकार होउन् भन्ने शुभकामना पनि दिए । नेपाली जनताले अहिले परिवर्तन चाहेको उनको भनाई छ । उनले देशमा ठूला ठूला परिवर्तन भएपनि जनताको अवस्थामा भने केही परिवर्तन नआएको गुनासो पोखे ।
सो क्रममा कामना पौडेलले पनि गौतमको विजयको लागि शुभकामना दिएकी छिन् । उनले चुनावी भाकलपत्रमा पूरा गर्ने कुरामात्रै समावेश गरिएको स्पष्ट पारिन् । उनले भनिन्,‘हामी जे बोल्छौं, त्यो पूरा गर्छौं । हामीजस्तो युवाले बोलेको कुरा पूरा गर्ने हो ।’ नेपाललाई नेपाल नै बनाउनेगरि आफूहरु चुनावी मैदानमा रहेको उनको भनाई छ ।
कार्यक्रममा राष्ट्रिय नागरिक पार्टीका महामन्त्री बिबी थापाले आफूहरुले पूरा हुने कुरामात्रै भाकलपत्रमा समावेश गरेको स्पष्ट पारे । उनले ठूला पार्टीले यसअघि पनि ठूला ठूला गफ गरेर घोषणापत्र जारी गरेनपनि ती कुरा पूरा नगरेको गुनासो पोखे । उनले युवाहरुले अब राजनीतिमा सशक्त हस्तक्षेप गर्नुपर्ने बताए । उनले हर्क र बालेन शाहहरुले स्वतन्त्रबाट जितेर नयाँ काम गरेको पनि सुनाए ।