Logo

सिलवालको विकास मार्गचित्र-‘भट्टेडाँडामा विमानस्थल, माल्टामा सिमेन्ट कारखाना’



ललितपुर, कात्तिक २० । अघिल्लोपटक नयाँ योजना अघि सारेर चुनाव जितेका नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवालले यसपटक ललितपुर दक्षिणभेगको विकासको मार्गचित्र अघि सार्ेका छन् । ललितपुरमा पत्रकार सम्मेलन आयोजना गरी उनले विकासको मार्गचित्र सार्वजनिक गरेका हुन् ।

सिलवालले अघि सारेको विकासको मार्गचित्रमा भट्टेडाँडामा विमानस्थल, लिच्छवीकालीन शहर चापागाँउलाई पुरातात्विक ढंगबाट विकास गर्ने, लेले चन्दनपुरलाई धरान चतरासम्म जोड्ने, लेले– बगुवा– चन्दनपुर सडकलाई रिङरोड बनाउने, गोदावरी मानेचौर सुरुङमार्ग, दलचोकीमा नगरकोटजस्तै पर्यटकीय स्थलहरू निर्माण गर्ने, माल्टामा सिमेन्ट कारखाना, वागमती, गोदावरी, कर्मनासा कोरिडोर निमार्णलगायत समेटिएको छ ।

पत्रकार सम्मेलनमा उम्मेदवार सिलवालले चापागाउँ– लेले– चन्दनपुर सडकलाई ठूलादुर्लुङ –फापरवारी– धरान– चतारासम्म विस्तार गरेर राष्ट्रिय राजमार्गको रूपमा अघि बढाउने योजना बनाएको जानकारी दिए ।उनले आफ्नो अघिल्लो कार्यकालमा राष्ट्रिय योजना आयोगसँग उक्त विषयमा छलफल गरेको जानकारी पनि दिए। उनले लिच्छवीकालीन शहर चापागाउँलाई पुरातात्विक रूपमा विकास गर्ने र यस क्षेत्रका जनताको सहयोग पाएमा चापागाउँलाई विश्वसम्पदासूचीमा सूचीकृत गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

केपी ओली सरकारले चापागाउँको डीपीआर तयार गरिसकेको थियो । उनका अनुसार र चापागाउँको ऐतिहासिकता कायम गर्न करिब ५५ करोड रुपैयाँ लाग्ने बताउँदै उनले एमालेको सरकार आएमा चापागाउँलाई पुरानो शहरको रूपमा विकास गर्ने बताए।चापागाउँमा रहेका बहाः, फाल्चा, मठमन्दिर, पोखरी, ढुंगेधारा लिच्छवीकालीन स्वरूपमा पुनःनिर्माण गर्ने योजनाका साथै बज्रबाराही क्षेत्रको योजना सुनाउँदै सिलवालले भने– ‘वज्रवाराही जंगललाई लन्डनको हाइट पार्कजस्तै चारैतिर दुबो र फूलहरूले सजाएर हिँड्ने बाटो बनाइनेछ । यहाँका बासिन्दा र बालबालिकाहरूलाई खेल्ने ठाउँ बनाउनेछौं ।’

ललितपुरको भट्टेडाँडाको तीनपाने जंगलमा आन्तरिक विमानस्थल निर्माण गर्ने अर्को योजना सुनाउँदै सिलवालले भने– ‘विज्ञहरूले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल साँधुरो हुँदै गएको सन्दर्भमा एक घण्टाको दूरीमा अन्तरिक विमानस्थल निर्माण गर्नुपर्ने सुझाव दिएका छन्, सोही सुझावको आधारमा विमानस्थलको मार्गचित्र अघि सारेको हुँ । सो क्षेत्रमा विमानस्थल निर्माण गर्दा २ हजार ३ सय मिटरको रन वे बनाउन सकिने विज्ञहरूको भनाइ छ । विमानस्थल निर्माण गर्दा सो क्षेत्रबाट करिब ६ अर्ब रुपियाँ बराबरको निर्माण सामग्री समेत प्राप्त हुने समेत अनुमान गरिएको छ ।’

गोदावरीबाट काभ्रेको मानेचौर जोड्ने सुरुङमार्ग निर्माण गर्न केपी ओली सरकारको पालामा बजेट व्यवस्थापन गरिएको जानकारी दिँदै उनले सो सडक काभ्रेको नमोबुद्ध पनौतीसम्म जोडेर पर्यटकीय गन्तव्यहरूलाई सहज बनाउन सकिने बताए । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्