Logo

‘हिजोको इतिहास, आजको वर्तमान र भोलिको भविष्य हेरेर कांग्रेसलाई मत दिनुहोस्’–नेविसंघ अध्यक्ष



चितवन, २० कात्तिक । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले नेपाली कांग्रेसलाई हिजोको इतिहास, आजको वर्तमान र भोलिको भविष्यलाई हेरेर जनताले मत दिनुपर्ने बताएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रुपमा चितवनमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै शेर्पाले यस्तो बताएका हुन् ।

उनले कांग्रेसको नेतृत्वमा मात्रै आजसम्म देशमा चुनाव भएको दाबी गरे । कांग्रेसकै कारण देश तानाशाहीमा जानबाट रोकिएको उनको भनाइ थियो । अध्यक्ष शेर्पाले संविधानको रक्षा, स्थिरता, समृद्धिको लागि कांग्रेसलाई मतदान गर्नुपर्नेमा जोड दिए । जनताको सुख दुखमा साथ दिँदै आएका  चितवन क्षेत्र–२ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठलाई मतदिन पनि उनले मतदातासँग आग्रह गरे ।

अहिलेको समाजले काम गर्नेलाई चिन्न नसकेको उल्लेख गर्दै केही नेताहरु सामजिक सञ्जालकै आधारमा चुनाव जित्ने दाबी गरिरहेको सुनाए ।
उनले विसं २००७ साल अघि नेपाली जनता रैती भएको स्मरण गराउँदै सातसाल पछि कांग्रेसले रैतीलाई जनता बनाएको दाबी गरे । नेपाली कांग्रेसको नेतृत्वमा भएका विभिन्न आन्दोलनले सफलता पाएको उनले जिकिर गरे ।

महिलाहरुको आवाज बुलन्द गर्नलाई स्वं मंगलादेवीको नेतृत्वमा महिला संघको स्थापना भएको स्मरण गराउँदै उनले देशमा भएको द्धन्द्धको अन्त्य शान्ति सम्झौतामार्फत कांग्रेसले नै गरेको बताए । संघर्ष र त्यागबाट प्राप्त भएको शान्तिलाई अहिले गुमाउन नहुने उनको भनाइ थियो ।
केपी शर्मा ओली सरकारले गरेको आर्थिक नोक्सानीको हिसाब किताब गर्ने बेला आएको र त्यसको जबाफ मंसिर ४ गते जनताले दिने उनले टिप्पणी गरे ।

शेर्पाले अब नेविसंघ राजीनिति भन्दा पनि शैक्षिक एजेण्डामा केन्द्रीत हुने बताए । नेविसंघले नै प्रधानमन्त्री देखि आफ्नो पार्टीका महामन्त्रीहरुसम्म देशका होनाहार नेताहरु जन्माएको पनि उनले स्मरण गरे । नेविसंघले नेतामात्र नभई कुशल नेतृत्व जन्माउने उनले थप स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्