काठमाडौं, २० कात्तिक । नेकपा एमालेकी नेतृ एवं दाङ ३ की उम्मेदवार कोमल वलीले आम जनताको विश्वास आफूलाई मात्र भएको दाबी गरेकी छन् ।
‘लुम्बिनी प्रदेशमा शंकर पोखरेल मुख्यमन्त्री भएको बेला यहाँ थुप्रै विकास भएका छन् । पूर्वाधारको विकास भएको छ । बृहत् सिँचाइ योजना आएको छ । ६५ वटा पुल निर्माण भएका छन् । भित्री बाटो र मुख्य बाटो कालोपत्रे भएको छ । विगतमा एमालेले काम गरेकाले जनताको विश्वास बढेको छ । आम जनताको विश्वास ममाथि मात्र छ । मैले चुनाव जितिसकेकी छु,] प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वलीले भनिन् ।
केपी शर्मा ओलीले आफैं किन ‘मंसिर चार-ओलीको सरकार’ भन्नुभो भन्ने धमलाको प्रश्नमा उनले भनिन्, ‘मंसिर चार-एमाले सरकार हाम्रो पार्टीको नारा हो । हाम्रो केन्द्रीय कमिटीले नै केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीमा अघि सारिसकेको छ । स्थानीय तहमा हामीले ३८ लाख मत ल्याएका छौं । अब ५८ देखि ६० लाख मत ल्याउँछौं । जनताले हिजो पनि विश्वास गरे, आज त्यो विश्वास दोब्बर भएको छ ।’
केपी ओलीको नेतृत्वमा बन्ने सरकारमा आफू मन्त्री हुनु स्वाभाविक हुने पनि उनले बताइन् । वलीले थपिन्, ‘आफ्नो जीवनकालमा मैले महाचमत्कार नै गरेकी छु । स्कुल, कलेजमा म सबैभन्दा प्रतिभाशाली विद्यार्थी थिएँ । पछि अब्बल खेलाडी भएँ । लोकगायिकाका रुपमा स्थापित भएँ कला साहित्य र संगीतबाट दाङलाई चिनाएँ । राष्ट्रिय सभामा आवाजविहीनहरुको आवाज बुलन्द गरें । जनताको म्यान्डेट पाएपछि मन्त्री हुनु स्वाभाविक हो ।’
तपाईंका प्रतिद्वन्द्वी गठबन्धनका दीपक गिरीले त कोमल ओलीले सिन्को नभाँचेको आरोप लगाउनुभएको छ नि भन्ने प्रश्नमा उनले भनिन्, ‘मैले सिन्को नभाँचेको भए दीपक गिरीले के भाँच्नुभएको छ त ? उहाँले चिनिने, देखिने र महसुस हुने कुनै विकास गर्नुभएको छैन ।’