काठमाडौं, कात्तिक २१ । नेकपा (एमाले)को क्षेत्र नं ४ स्तरीय सूचना तथा प्रविधि समन्वय कमिटीले १२ पन्ने एउटा चुनावी पुस्तिकामा यस क्षेत्रका एमाले उम्मेदवार डा राजन भट्टराईले पाँच वर्षको समयमा गरेको काम भनेर आयोजनाको सूची र त्यसमा विनियोजित बजेट उल्लेख छ ।
त्यसमा भट्टराईले गरेको भनिएका कामहरुको सूची हेर्ने हो भने यो पाँच वर्षमा क्षेत्र नं ४ भित्र सुरु भएको सबै कामको सूची राखिएको छ । जुन एउटा वडाले गरेको, नगरपालिकाले गरेको, प्रदेशले गरेको र केन्द्र सरकारले गरेका सबै काम त्यो सूचीमा राखिएको छ र ती सबै काम भट्टराईले गरेको उल्लेख छ ।
भट्टराई २०७४ सालमा यही क्षेत्रका उम्मेदवार हुन् । नेपाली काँग्रेसका महामन्त्री गगन थापासँग ३५०० मतान्तरले पराजित भएपछि एमाले नेतृत्वको सरकारमा परराष्ट्र सल्लाहकारमा नियुक्त भएका थिए । तर आफ्नो कार्यकालमा यो क्षेत्रको कुनै पनि मुद्दामा उनको प्रत्यक्ष सहभागिता देखिँदैन ।
कुनै पनि विकास निर्माणको काममा दबाब दिनको लागि पत्र लेखेको, आयोजना माग गर्नको लागि निवेदन लेखेको र सरोकारवाला निकायमा धाउन गएको सार्वजनिक भएको छैन । तर चुनावको मुखमा जारी उनको प्रचारपत्रमा भने एक्कासी सबै कामको सूची अटेको छ ।
सोही पर्चाको अन्तिम अन्तिमतिर कमलपोखरीको तस्वीर राखेर भट्टराईले त्यसको विकासको लागि आफूले ७ करोड ५० लाख विनियोजन गरिएको उल्लेख गरेका छन् । जबकि पटकपटक विवादित बनेको कमलपोखरीमा विवाद मिलाउन होस् या अन्य आर्थिक सहायतामा कतै नजोडिएका भट्टराईले कमलपोखरीको लागि आफूले बजेट पारेको दाबी गर्न भ्याएका छन् ।
यसअघिको उनी आफैंले तयार पारेको भिडियोमा कमलपोखरीको प्रहरी चौकी हटाउन पहल गरेकोसम्म कुरा थियो । तर अहिले बजेट नै विनियोजन गरेको उल्लेख गरे । जबकि यसमा सांसद विकास कोष र काठमाडौं महानगरपालिकाको बजेट परेको छ । डा भट्टराईले राखेको भिडियोमा एमालेकै पूर्व मेयर विद्यासुन्दर शाक्यले समेत उनले बजेट दिएको विषयलाई स्वीकारेका छैनन् । भिडियोमा शाक्यले कुनै न कुनै हिसाबले भट्टराईको समेत सहयोग रहेको बताएका छन् । यसरी उनले कमलपोखरीमा बजेट पारेको कुरा चुनावी स्टन्टमात्रै रहेको पुष्टि भएको छ ।
यस्तै, १२ पन्ने पर्चामा भट्टराईले विभिन्न सडक आयोजनाको नाम उल्लेख छ । ती सडक आयोजनाहरु उपत्यका विकास प्राधिकरणमा गगन थापाले पटकपटक निवेदन दिएर बनाएका सडकहरु छन् । जसको बारेमा समचार प्रकाशित भएपछि त्यो विषयलाई समेत उनले आफूले गरेको दाबी गरेर सडकलाई विवादित बनाउन लागेका छन् ।
बाँसबारी बुढानीलकण्ठ मूल सडकको गणेशचोकदेखि, चुनिखेलको कौडोल सापाटार सडक निर्माणको कार्य सम्पन्न भैसकेको छ । जम्मा ३.७ कि.मी.लामो यो सडक निर्माणले कही वर्षअघि सम्म दुर्गम र पिछडिएको भान हुने कौडोल सापाटार क्षेत्रको कायापलट नै भएको छ भने बसोवास र व्यवशाय गर्नेहरुको लागि नयाँ आकर्षण भएको छ ।
गगन थापाको पहलमा भएको र पटकपटक यसको दबाबको लागि निवेदन दिएको प्रमाण समेत बाहिरिएको यो सडक पनि भट्टराईले आफूले बनाएको दाबी गरेका छन् । यसमा उनको कुनै संलग्नता समेत नरहेको स्थानीयको दाबी छ ।
त्यस्तै, धोबीखोलाको माथिल्लो भेगको निर्माणमा कुनैपनि भूमिका नखेलेका एमाले नेता डा भट्टराईले यसलाई पनि आफूले गरेको कामको सूचीमा राखेका छन् । यो सडक आयोजना निर्माणसम्पन्न भएपछि गएर फोटो खिचाएको भनेर भट्टराई त्यतिबेला विवादित समेत बनेका थिए ।
उपत्यका विकास प्राधिकरण स्रोतले पनि यो गगन थापाको पहलमा निर्माण भएको बताएको छ । डा भट्टराईले कति मिथ्या कुरालाई यो पर्चामा समेटेका छन् भन्ने कुरा उनले अन्तिममा राखेको कामको सूची हेर्दा थाहा हुन्छ । लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालयको रुपमा विकास गर्नेगरी नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नै बजेटबाट बनाएको कवि कुञ्जलाई उनले आफ्नो पालामा बनाएको भनेर दाबी ठोकेका छन् । जबकि यसमा कुनैपनि निकायको संलग्नता छैन र प्रज्ञाको यो निर्णय पुरातत्वको नियमविपरीत रहेको भनेर विवादित समेत बनेको छ ।
यसरी पछिल्लो पाँच वर्षमा वडादेखि केन्द्र सरकारसम्मले बनाएका सबै परियोजना जोडेर सामान्य सांसदले १६६ वर्षमा गर्ने काम राजन भट्टराईले पाँच वर्षमा गरेको भनेर उनले आफ्नो मुखपत्रमा प्रकाशित समेत गराएका छन् ।
उनले ३० लाखको खुद्रे बजेटदेखि १० करोड रुपैयाँसम्मका परियोजनामा आफ्नो दाबी ठोकेका छन् । तर, ती आयोजनामा उल्लेख भएकामा केन्द्रले गरेका आयोजनामध्ये दुईतिहाइभन्दा धेरै आयोजना गगन थापाको पहलमा भएको स्पष्ट भइसकेका आयोजना छन् ।
यसरी चुनावको मुखमा जनता झुक्याउनको लागि भट्टराईले गरेको यो प्रयासले जनता अझै पनि चुनावी पर्चामा जे लेख्यो त्यही पत्याउँछन् भन्ने गलत सोचाइमा डा भट्टराई रहेको तथ्यलाई उजागर गरेको छ।