Logo

राष्ट्रिय गौरवका आयोजना पूरा गर्छुः राठौर (भिडिओसहित)



काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाँके-३ का उम्मेदवार किशोरसिंह राठौरले सुशील कोइरालाको पालामा सुरु भएका राष्ट्रिय गौरवका योजना पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘सुशील कोइरालाको नेतृत्वमा यहाँ विकासका धेरै महत्त्वपूर्ण आयोजना सुरु भएका छन् । यहाँको जमिन सुख्खा छन् । सिँचाइका लागि राष्ट्रिय गौरवका आयोजना मात्र दुइटा छन् । सिक्टा सिँचाइ आयोजना सुरु भए पनि पानी छैन । भेरी डाइभर्सनको पानी बबईमा खसेको छैन । यी दुई योजना पूरा गर्न मेरो पहल हुनेछ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै राठौरले भने ।

नेता राठौरले ४० वर्षको राजनीतिक जीवनमा कुनै दाग नलागेकाले आफूप्रति जनताको विश्वास रहेको पनि दाबी गरे । उनले भने, ‘म जनताको सपना पूरा गर्न नै राजनीतिमा आएको हुँ । ४० वर्षको राजनीतिमा मलाई कुनै दाग लागेको छैन । हाम्रो गठबन्धन सत्ता प्राप्तिका लागि मात्र होइन, संविधानको रक्षा गर्दै कार्यान्वयनका लागि हो ।’

जनता समाजवादी पार्टीका उम्मेदवार नोयन्द्र धितालले गुणस्तरीय शिक्षा र स्वास्थ्य, कृषिको आधुनिकीकरण, सडकको समस्यालाई प्राथमिकता दिएको बताए । संसदमा गएर जनताको समस्या उठाउने पनि उनले बाचा गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्र शुक्लाले भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि आफू लड्ने बताए । उनले भने, ‘भ्रष्टाचारमुक्त नभएसम्म जनताको अनुहार उज्यालो हुँदैन । भ्रष्टाचार अन्त्यका लागि इमानदारी चाहिन्छ ।’

 



प्रतिक्रिया दिनुहोस्