Logo

व्यावसायिक तरकारी खेतीबाट आम्दानी



लेखनाथ, २१ कात्तिक । पोखराका उपभोक्ताले पाँच दिन अघि मात्र प्रतिमुठा साग रु एक सय ५० तिरेर खरिद गरेका थिए । एक महिना अघि मात्र प्रतिकेजी धनियाँको साग एक हजारमा बिक्री भएको थियो । तिहारमा सयपत्री फूलको मूल्य प्रतिकेजी रु एक हजार पुगेको थियो । यसैबाट प्रमाणित हुन्छ कि अब कास्कीका किसानले उत्पादन गरेको वस्तुले मूल्य पाउन थाल्यो ।

पोखरा महानगरपालिका–२२ भुम्दी निवासी २४ वर्षीया अप्सरा मिजारसँग आफ्नो जमिन नभए पनि दई रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरेकीमा भदौ र आसोज महिनामा उत्पादन गरिएको काँक्राले मात्र रु एक लाख आम्दानी गरायो । यसै महिनामा उत्पादन भएको सिमीले रु ५० हजार मुनाफा दियो । बजारमा यतिबेला सिमीको मूल्य प्रतिकेजी रु एक सय २० थियो । तीन रोपनी जग्गामा लगाइएको तरकारीबाट मासिक रु ३० हजार मुनाफा हुने गरेको कृषक मिजारले सुनाए । उनको पति कुमार रोजगारीका लागि कतारमा छन्, कतार गएको पनि तीन महिना मात्र भयो ।

स्याङ्जा आरुखर्कबाट पाँच वर्षअघि विवाह गरेर भुम्दी आएकी अप्सराले गाउँका किसानले व्यावसायिकरुपले तरकारी खेतीबाट मनग्य आम्दानी गरेको देखेर उनी पनि तरकारी खेतीतर्फ आकर्षित भएका थिए ।

गाउँलेको तीन रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको पाँच वर्ष भयो, यस अवधिमा उनले मासिक रु ३० हजार आम्दानी गरेर आत्मनिर्भर हुँदै आएको हो । अप्सराले भनिन्, “तीन वर्षदेखि तरकारी खेतीको आम्दानीले नै परिवार पालिएको छ । यतिबेला भाडाको जमिनमा केराउका बेर्ना लगाइएको छ । यस गाउँमा व्यावसायिक कृषि सुरु भएको १८ वर्ष पुगिसकेको छ । एक सयभन्दा वढी किसानले तरकारी खेती गर्दै आएका छन् ।”

भुम्दीका अधिकाशं परिवारले तरकारी खेतीमै व्यस्त छन् । किसानको उत्पादन बारीबाटै बिक्री हुँदै आएको छ । अठार वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका ४९ वर्षीय श्यामु अधिकारीले नौ रोपनी जमिनमा तरकारी खेती गर्दै आएका छन् । छ रोपनी आफ्नै र तीन रोपनी जमिन भाडामा लिएर व्यावसायिक तरकारी खेती गरेका उनले प्रतिवर्ष रु नौ लाख मुनाफा गर्दै आएका छन् ।

पछिल्लो समय तरकारीले बजार र मूल्य पनि पाउन थालेको छ । यहाँ उत्पादन भएको तरकारी पोखरा बजारमा बिक्री हुने गर्छ । आफूले पाँच जनाको परिवार तरकारीबाट नै पाल्दै आएको जानकारी दिँदै श्यामुले भने– “यहाँका किसानलाई प्राविधिक ज्ञान र कोल्ड स्टोरको खाँचो छ ।” किसानले गोलभेडा, काउली, सिमी, काँक्रो, साग, मुला, बन्दा, करेला, घिरौँला, धनियाँ, फर्सी, गाँजरलगायत तरकारी उत्पादन गर्दै आएका छन् ।”

कृषि फार्म सञ्चालन गर्दै आएका श्यामुले कुखुरा र भैँसी पालनसमेत गरेका छन् । यतिबेला उनका बारीमा अन्नपूर्ण दामी र वाइट टप जातका काउली लहलह भएका छन् । बारीमा काम गर्दै गरेका उनले भने, “सधै ओझेलमा पारेका किसानको उत्पादनले बल्ल बजार र मूल्य पाउनु थालेको छ ।” गाउँमा कृषि समूह बनाएर तरकारी खेती गर्ने थुप्रै किसान छन् ।
अर्का तरकारी खेती गर्दै आएका रमेश अधिकारीले भने, “माटोमा खेल्न सके सफल भइँदोरहेछ । चार पाँच रोपनी जग्गामा लगाइएको तरकारी खेतीको आम्दानीले एक परिवार सजिलै पाल्न सकिने रहेछ । कसैसँग ऋण माग्न जानु परेको छैन, दुई छाक खान र छोराछोरी पढाउन पनि पुगेको छ आवश्यक परेमा केही पैसा गोजीबाट निकाल्न पनि सकिने तरकारी खेतीले बनाइदियो ।”

सोही गाउँ निवासी ५५ वर्षीया किसान धनकुमारी गुरुङले आफू विवाह गरेर यहाँ आउँदा लोग्ने छोराले रक्सी पिउने र तासै मात्रै खेल्ने गर्थे, सडकसँगै तरकारीको व्यावसायिक खेती हुन थालेपछि अहिले गाउँमा जुवातास खेलेको देख्न पाइँदैन, ७५ वर्षका वृृद्धवृद्धासमेत तरकारी बारीमा व्यस्त भएको देखिन्छ ।

गाउँमा तरकारीले अनौठो परिवर्तन ल्याइदियो उनले भने । किसानले उत्पादन गरेको तरकारी अवलोकनका लागि आइतबार बिहान पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरिया, वडाध्यक्ष हिमलाल बरालसहित सञ्चारकर्मीको टोली त्यहाँ पुगेको थियो । अवलोकनमा आएका पाउनालाई उक्त गाउँका किसानले यहाँका एक सय घरपरिवारले वार्षिक दुई करोडभन्दा बढीको तरकारी उत्पादन गर्दै आएको जानकारी दिए ।
तरकारी खेती अवलोकन गर्दै प्रमुख कडरियाले यस गाउँबाट अन्य गाउँका किसानले पनि व्यावसायिकरुपले तरकारीे खेती सिक्न जरुरी भएको बताए । घरका मान्छे विदेश भए पनि र यहाँका बाझो जग्गा भाडामा लिएर पनि व्यावसायिक तरकारी सुरु हुनु कृषिमा क्रान्ति भएको उनले प्रतिक्रिया दिए ।

वडाध्यक्ष बरालले तरकारीमा सिँचाइको लागि पानी अपुग भएमा थप स्रोतबाट पानी ल्याउनका लागि आफूले वडाको तर्फबाट पाइप उपलब्ध गराइदिने आश्वासन दिए । पुम्दी र भुम्दी दूध र तरकारी उत्पादनमा कास्कीमै अगाडि भएकाले यहाँका किसानलाई व्यावसायिक तालिमको व्यवस्था गर्नसमेत उनले कृषि महाशाखालाई आग्रह गरे । रासस



प्रतिक्रिया दिनुहोस्