Logo

एमालेले एकल बहुमत ल्याउने ओलीको दाबी



पोखरा, २१ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेपाली जनताले विनाश होइन, विकासको बाटो रोज्नुपर्ने बताएका छन् ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा आज (सोमबार) पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले देशलाई कता लैजाने भन्ने कुनै गन्तव्य नभएको गठबन्धनलाई जिताउँदा विनाश भोग्नुपर्नेतर्फ सचेत गराए ।

उनले प्रश्न गरे–‘विकास रोज्ने कि विनाश ? राष्ट्रियता, स्वाधीनता र स्वाभिमान रोज्ने कि पराधीन बन्ने ?, राजनीतिक स्थिरता रोज्ने कि अस्थिरता ?’ मुलुकले राजनीतिक स्थिरताको बाटो समातिसकेको अवस्थामा केही तत्वले त्यो सहन नसकेर देशलाई अस्थिरतातिर धकेलेको उनको भनाई थियो ।

ओलीले २०७४ सालको निर्वाचनमा माओवादीसँग संयुक्त घोषणापत्रका आधारमा जनमत प्राप्त गरिसकेपछि सोही घोषणापत्र कार्यान्वयनमा लाग्नुपर्नेमा प्रचण्डले घोषणापत्र च्यात्नुका साथै जनादेशविरुद्ध सरकार ढाल्ने षडयन्त्रमा लागेपछि आफूले ताजा जनादेशमा जाने निर्णय गरेको स्पष्ट गर्दै राजनीतिक मुद्दामा अदालत गुहार्ने प्रतिगामी तत्वहरूले त्यसको गलत ढङ्गले व्याख्या गरिरहेको बताए ।

उनले स्वतन्त्र न्यायालयको मान्यता र शक्ति पृथकीकरणको सिद्धान्त विपरीत सर्वोच्च अदालतले सरकार गठनको परमादेश जारी गर्नु गल्ती भएको र यसबाट ‘चेक एण्ड व्यालेन्स’को व्यवस्था विथोलिएको विचार व्यक्त गरे । यतिवेला विभिन्न सर्भेक्षण भन्दै कतिपयले निर्वाचनमा एमालेले नेपाली काँग्रेसको हाराहारी सङ्ख्यामा ल्याउँछ भन्ने इम्प्रेसन दिन खोजीरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपाली काँग्रेससँग अत्यधिक अन्तरका साथ एमालेले एकल बहुमत ल्याउने बताए ।

उनले भने,‘गठबन्धनवालाहरूले यस्ता सर्भेक्षणका आधारमा भ्रम फैलाउन खोजिरहेका छन् ।’ निर्वाचनमा एमालेले एकल बहुमत ल्याए पनि सरकार गठनमा अन्य दललाई पनि सहभागी गराउने स्पष्ट गर्दै उनले भने,‘सरकारमा अन्य दल सहभागी भए पनि सरकारको नीति, कार्यक्रम एमालेको घोषणापत्रका आधारमा बन्ने छ, सरकारले एमालेको घोषणापत्र लागू गर्नेछ ।’

कार्यकर्ता भेलामा पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पनि बोलेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने नेताकार्यकर्ताहरूलाई अध्यक्ष ओली र अन्य नेताहरूले स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्