Logo

लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्छ : अध्यक्ष ओली



काठमाडौँ,२१ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्ने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी कास्कीद्वारा आज पोखरामा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक मूल्यमान्यताका लागि पनि एमालेले बहुमत प्राप्त गर्नु आवश्यक भएको बताए ।

विचार नभएका, नीति नभएका गठबन्धनले फरक–फरक घोषणापत्र सार्वजनिक गरेको उनको आरोप थियो । गन्तव्य नभएकाले फरक–फरक घोषणापत्र बोकेर हिँडेको बताउँदै उनले उनीहरू जनतासँग झुटो आवश्वासन बाँढिरहेका छन् भने ।

लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउन सकिने र नेकपा एमालेले बहुमतको सरकार बनाएर वार्तामार्फत फिर्ता ल्याउने बताए । उनले आफूहरूले देशलाई प्रगतिको बाटोमा लगेको बताए । अध्यक्ष ओलीले देशमा सुदृढ राष्ट्रियशक्ति आवश्यक भएको र त्यो एमाले भएको जिकिर गरे ।

एमालेले घोषणापत्रमा २० वटा ग्यारेन्टी क्षेत्र तोकेको बताउँदै उनले त्यसमा राष्ट्रिय समृद्धिका सबै कुरा समेटिएको बताए । सामाजिक सुरक्षाका क्षेत्रमा धेरै विषयलाई नेकपा एमालेले उठाउनुका साथै त्यसको व्यवस्थापन गर्दै आएको उनले बताए । नेकपा एमालेका सङ्गठन विभाग प्रमुख एवं कास्की निर्वाचन क्षेत्र नं १ ९क० का प्रदेशसभा सदस्यका उम्मेदवार खगराज अधिकारीले गण्डकीलाई पर्यटन, कला संस्कृतिको विकास गरी नमूना प्रदेशका रुपमा विकास गर्न सकिने बताए । पोखरालाई पर्यटनको राजधानी बनाउने बताउँदै उनले पोखरासहित समग्र गण्डकीको समृद्धि र विकासका लागि नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताए । नेकपा एमाले कास्कीका कार्यावाहक अध्यक्ष तेजनारायण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सचिव बैनबहादुर अधिकारी क्षेत्री, उपसचिव दर्शन लामा लगायतले बोलेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्