Logo

पुरानै प्रतिस्पर्धीबीच रस्साकस्सी



दमक, कात्तिक २२। पछिल्लो पाँच वर्षमा झापा निर्वाचन क्षेत्र नं ५ को विकास निर्माणले निकै छलाङ मारेको छ। आधा दशकमा यति भव्य प्रगति सम्भवतः देशका अन्य निर्वाचन क्षेत्रमा देख्न पाइँदैन। यो क्षेत्रमा रहेको दमक नगरपालिकाको स्वरूप नै नयाँ बनेको छ। राजनीतिक दलहरूले यस पटक अघि सारेका चुनावी प्रतिबद्धता पूरा हुनसके यस क्षेत्रको आगामी पाँच वर्षको विकास चमत्कारपूर्ण हुनेछ।

प्रतिनिधि सभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ५ मा विशेष गरी राप्रपासँगको तालमेलमा नेकपा (एमाले) र सत्ता गठबन्धनबीच नै रस्साकस्सी हुने देखिएको छ। निर्वाचनमा जम्मा २५ उम्मेदवार भए पनि यी दुई दलबाहेकको प्रभाव खासै देखिएको छैन। एमालेका तर्फबाट एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डा खगेन्द्रपाण्डव अधिकारी उम्मेदवार रहेका छन । २०७४ सालको निर्वाचनमा उनीहरूबीच नै प्रतिस्पर्धा भएको थियो र सो निर्वाचनमा ओलीले ५७ हजार १३९ र अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका थिए ।

यस निर्वाचन क्षेत्रमा दलहरूले आफ्ना स्थानीय घोषणापत्रमार्फत विकासका प्रतिबद्धता अगाडि सारेका छन्। गठबन्धनका तर्फबाट जारी गरिएको ४१ बुँदे ‘सार्वजनिक प्रतिबद्धता’मा आगामी पाँच वर्षमा अन्तर्राष्ट्रियस्तरको आदिवासी रङ्गशाला निर्माण, दमक–रवी सडक (फाल्गुनन्द मार्ग)लाई यथाशीघ्र कालोपत्रे गर्ने, दमकमै मदन भण्डारी रङ्गशाला निर्माण गर्ने, औद्योगिक क्षेत्र निर्माणमा देखिएको ढिलासुस्तीलाई अन्त्य गर्ने, दमकमा चन्द्रमा पार्क निर्माण गर्ने, संसारकै अग्लो बुद्ध मूर्ति निर्माण प्रक्रिया थालिने, पाडाजुँगी चोक, मङ्गलबारे बजार, गेउरिया बजार, रङ्पुर बजार र बाह्रघरेलाई एकीकृत सहरी विकासको रणनीतिक योजनामा समावेश गरी स्मार्ट सिटीका रूपमा विकास गर्नेलगायतका विकास योजना उल्लेख गरिएको छ।

यसैगरी एमालेले स्थानीयस्तरमा जारी गरेको ‘हाम्रो प्रतिबद्धता’मा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका क्षेत्रअन्तर्गत प्रस्तावित नेपाल–चीन औद्योगिक मैत्रीपार्क निर्माण, दमक मदन भण्डारी रङ्गशाला निर्माण, कमल गाउँपालिकामा आधुनिक सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने, बृहत् बुद्धपार्क निर्माण, दमक बिजनेस सेन्टरको काम पूरा गर्ने, दमकमा बहुतले बसपार्क निर्माण, गौरीगन्ज बजारलाई आधुनिक नगरमा विकास गर्ने, दमक भ्युटावर तथा व्यापारिक केन्द्रलाई पर्यटक केन्द्रका रूपमा विकास गर्ने योजना उल्लेख गरेको छ। कतिपय विकासका योजना दुवै प्रतिस्पर्धीको मिल्दोजुल्दो रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्