काठमाडौं, २२ कात्तिक । काठमाडौं क्षेत्र नम्वर १ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको बताएका छन् । आज घरदैलो कार्यक्रमका क्रममा उनले उक्त कुरा बताएका हुन् ।
पछिल्लो समय चुनावी कार्यक्रममा व्यस्त रहेका सिंहले आज पनि चुनावी घर दैलो कार्यक्रमका लागि निरन्तरता दिएका छन् । चुनावी प्रचार कै क्रममा आज उनले यस क्षेत्रबाट आफुलाई मतदाताले ३ पटक विश्वास गरेको तर शुरुको २ पटक संविधान र्निमाणमा व्यस्त रहनु परेकाले भौतिक विकासमा त्यति समय दिन नसके स्वीकार गरे । तर संविधान र्निमाण पछि भने आफुले सो क्षेत्रको हरेक प्रकार विकासका गतिविधि अगाडि बढाइरहेको बताए । हरेक टोल टोलमा आफुले कुनै न कुनै प्रकारको विकाशको योजना जनता माझ पुर्याएको उनले सुनाए ।
सुकुम्बासी समस्या व्यवस्थापन देखि लिएर सामुदायिक विद्यालय सुधारका लागि पनि आफुले कार्य गरेको बताए । उनले सोही कारण पनि यसपटक मतदाताहरुले सकरात्मक प्रतिकृया दिइरहेको जिकिर गरे । यसपटक विकासका कामका विषयलाई लिएर जनगुनासो कम रहेको उनको भनाइ थियो । मतदाताले मेलम्ची पानीको बारे गुनासो गरेको बताउदै उनले आफुले जनतालाई केहि समय कुरिदिन आग्रह गरेको बताए ।
विगतमा पनि कांग्रेस र आफ्नो नेतृत्वमा त्यहाँका जनताका साना–साना निमण्त्रणालाई स्विकार गर्दै जनताका आवश्यकताहरु तथा गुनासोहरु नजिकबाट सुन्ने र समाधान गर्ने गरेको भएर मतदाताले यसपटक पनि कांग्रेस र आफुलाई बहुमत दिने विश्वाश व्यक्त गरे । विकासका काम साथै संविधान कार्यन्वयन गर्न कांग्रेससहित गठवन्धनलाई मत दिन उनले आग्रह गरे ।