काठमाडौं, २४ कार्तिक । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति परिवारले दलले चुनावको लागि सार्वजनिक गरेका घोषणापत्रमा आफ्नो देशको मौलिकता, दिगो विकास र समृद्धिका भरपर्दा आधारको प्रतिबद्धता नभएको गुनासो पोखेको छ । समितिको तर्फबाट कार्यकारी सभापति डा. रामचन्द्र अधिकारीले यस्तो गुनासो पोखेका हुन् ।
आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर समितिले पछिल्लो धारणा सार्वजनिक गर्दै यस्तो टिप्पणी गरेको हो । समितिले दलका घोषणापत्रमा सनातन धर्म, संस्कृतिप्रति इमान र आस्था पनि नझल्किएको आरोप लगाएको छ ।
दलका घोषणापत्र केवल चुनाव जित्ने ध्येयले मतदाता भुलाउने गफका पुलिन्दाजस्तो देखिएको समितिको गम्भीर आरोप छ । समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘धर्मनिरपेक्षताका कारण धर्म परिवर्तनका माध्यमले इसाईकरण गर्द नेपाली जनताको मुटुको ढुकढुकीजस्तो प्यारो हाम्रो सनातन धर्म र संस्कृतिमाथि अतिक्रमण गरि मुलुकलाई डरलाग्दो धार्मिक द्धन्द्धतिर धकेलिँदै छ भने संघीयताको प्रयोगले मुलुको मेरुदण्डका रुपमा रहेको राष्ट्रिय अखण्डतामाथि सिकिमीरकणको खतरा बढ्दै गएको छ ।’
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम