काठमाडौं, २८ कार्तिक । प्रतिनिधिसभाका लागि रौतहट–३ का स्वतन्त्र उम्मेदवार प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कुकर्मको कारण मधेशमा एमाले समाप्त हुन लागेको बताएका छन् । आज विहान प्राइम टिभीको लागि पत्रकार ऋषि धमलासँग कुराकानीमा नेता साहले यस्तो बताएका हुन् ।
उनले एमाले अध्यक्ष ओलीले नै चुनाव हार्ने ठोकुवा गरे ।
उनले भने,‘मधेशमा आज सूर्य चिन्हबाट एक जनाले पनि जित्दैन । एकजना केपीको कुकर्मले सूर्य डुबिरहेको छ । यो भनेको केपी ओली त कम्युनिष्ट सिध्याउने मान्छे रैछ भन्ने पुष्टि भएको छ ।’ उनले ओलीले कम्युनिष्ट आन्दोलनप्रति ऐतिहासिक गद्दारी गरेको गम्भीर आरोप लगाए ।
उनले ओलीले उपेन्द्र यादवसँग तालमेल वा चुनावी सहकार्य नगरेको भए आफू एमालेमै हुनेथिएँ भन्ने दाबी गरे । उनले एमाले र जसपाले मधेशमा चुनाव जित्न नसक्ने ठोकुवा गरे । यद्धपी उनले एकाध व्यक्तिले जित्नसक्ने दाबी गरे । उनले आफूलाई माओवादीको ठूलो पँक्तिले चुनावमा साथ दिएको भएपनि कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले भने सहयोग नगरेको स्पष्ट पारे ।
उनले आफू र प्रचण्डबीच देशलाई सही दिशामा अघि बढाउनको लागि सहकार्य भैरहेको सुनाए । उनले ओलीभन्दा प्रचण्ड नै उत्तम व्यक्तित्व भएको दाबी गरे । साहले मंसिर ४ गतेको निर्वाचनपछि प्रचण्डको नेतृत्वमा सरकार बन्नेपनि दाबी गरे । उनले भने,‘मंसिर ४ गतेपछि प्रचण्ड प्रधानमन्त्री बन्न सम्भव छ । म ढुक्क छु । सायद ओलीजीले नै दौडेर गएर प्रचण्डलाई अब तपाईँ प्रधानमन्त्री बन्नुहोस भनेर प्रस्ताव गर्नुहुनेछ ।’