Logo

प्रभु साहको ठोकुवा : चुनावपछि केपी ओली नै प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुहुन्छ (भिडिओसहित)



काठमाडौं, २८ कार्तिक । प्रतिनिधिसभाका लागि रौतहट–३ का स्वतन्त्र उम्मेदवार प्रभु साहले मंसिर ४ गतेको निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओली नै दौडिएर पुष्पकमल दाहाललाई भेटेर प्रधानमन्त्री बन्न प्रस्ताव गर्ने ठोकुवा गरेका छन् । साहले मंसिर ४ गतेको निर्वाचनपछि प्रचण्डको नेतृत्वमा सरकार बन्नेपनि दाबी गरे ।

उनले भने,‘मंसिर ४ गतेपछि प्रचण्ड प्रधानमन्त्री बन्न सम्भव छ । म ढुक्क छु । सायद ओलीजीले नै दौडेर गएर प्रचण्डलाई अब तपाईँ प्रधानमन्त्री बन्नुहोस भनेर प्रस्ताव गर्नुहुनेछ ।’ आज विहान प्राइम टिभीको लागि पत्रकार ऋषि धमलासँग कुराकानीमा नेता साहले यस्तो बताएका हुन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कुकर्मको कारण मधेशमा एमाले समाप्त हुन लागेको बताएका छन् । उनले भने,‘मधेशमा आज सूर्य चिन्हबाट एक जनाले पनि जित्दैन । एकजना केपीको कुकर्मले सूर्य डुबिरहेको छ । यो भनेको केपी ओली त कम्युनिष्ट सिध्याउने मान्छे रैछ भन्ने पुष्टि भएको छ ।’

उनले ओलीले कम्युनिष्ट आन्दोलनप्रति ऐतिहासिक गद्दारी गरेको गम्भीर आरोप लगाए । उनले ओलीले उपेन्द्र यादवसँग तालमेल वा चुनावी सहकार्य नगरेको भए आफू एमालेमै हुनेथिएँ भन्ने दाबी गरे । उनले एमाले र जसपाले मधेशमा चुनाव जित्न नसक्ने ठोकुवा गरे । यद्धपी उनले एकाध व्यक्तिले जित्नसक्ने दाबी गरे ।

उनले आफूलाई माओवादीको ठूलो पँक्तिले चुनावमा साथ दिएको भएपनि कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले भने सहयोग नगरेको स्पष्ट पारे । उनले आफू र प्रचण्डबीच देशलाई सही दिशामा अघि बढाउनको लागि सहकार्य भैरहेको सुनाए । उनले ओलीभन्दा प्रचण्ड नै उत्तम व्यक्तित्व भएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्