भक्तपुर, २९ कार्तिक । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आगामी निर्वाचनमा कांग्रेसमा ७ रेक्टरको भुकम्प जाने दावी गरेका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुर क्षेत्र नं. २ ‘क’ सूर्यविनायक क्षेत्र निर्वाचन परिचालन कमिटीले आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।
कांग्रेसका असंख्य नेता तथा कार्यकर्ताहरु एमालेको समर्थनमा रहेको उनको भनाइ थियो । कांग्रेसका हजारौं कार्यकर्ताहरु एमालेमा प्रवेश तथा समर्थन गरेसँगै भक्तपुरबाट कांग्रेस ४०औं वर्ष एमालेले नेतृत्व गर्ने अवस्था बनेको उल्लेख गर्दै उनले देशभर कांग्रेस छोडेर तथा निर्वाचनमा पराजय पश्चात देशभरबाट कांग्रेसलाई जनमतको माध्यमबाट जनताले लखेट्ने अवस्थामा पुगेको बताए ।
कांग्रेसमा पिडित भएका र एमालेले लिएको विकास र समृद्धिको साथमा राष्ट्र, राष्ट्रिया र राष्ट्रिय स्वाधिनताको पक्षमा लिएको अडानका कारण एमालेमा कांग्रेसलगायतका नेताहरुलाई एमालेमा स्वागत गरी मुलुक निर्माणको पक्षमा लगाउने बताए । भक्तपुर एमालेमय भएकाले एमालेकै जनताको तिर विकास भएको उल्लेख गर्दै उनले यहि गतिमा रहे भक्तपुरमा कांग्रेस घट्दै जाने र एमाले बढ्दै जाने दावी गरे । भक्तपुरका जनताको लागि एमालेको विकल्प कांग्रेस हुनै नसक्ने उल्लेख गर्दै उनले भने,‘आगामी निर्वाचन पछि कांग्रेसले ठूलो पराजय व्यहोर्नेछ । जनताबाट तिरस्कृत हुनेछ । गठबन्धनको बैशाखी अन्त्य हुनेछ । लाखौं नेता तथा कार्यकर्ता एमालेको बलियो घरभित्र आउनेछन् । निर्वाचन पछि कांग्रेसमा ७ रेक्टरको भुकम्प जानेछ । त्यो राजनीतिक भुकम्पलाई एमालेले थाम्ने छ । त्यसपछि देशमा स्थिर सरकार बन्नेछ । विकास निर्माणका कार्यहरु सुचारु हुनेछन् । गठबन्धन सरकारले विकास होलिडेको अन्त्य एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि मात्र हुने कुरा जनताले बुझेका छन् । त्यसैले आगामी निर्वाचन पछि कांग्रेसले सरकारको नेतृत्वमा पुग्ने सपना सधैंको लागि अन्त्य हुनेछ ।’
कार्यक्रममा प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार गोविन्द दुलाल, प्रदेशसभाका समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजालगायतले आफ्नो भनाइ राखेका थिए । त्यस्तै कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मलकुमार भट्टराई, एमाले बागमती प्रदेश सदस्य शशी जंग थापा, राजेन्द्र राजथलालगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।