काठमाडौं, २९ कार्तिक । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका डा. दीपेश केसीले आज आफ्नो जन्मगाउँमा शक्ति प्रदर्शन गर्ने भएका छन् । आफ्नो क्षेत्रको विकासका लागि यसअघि जितेकाहरुले सिन्को पनि नभाँचेको भन्दै विकासको मूल फुटाउने उद्घोषका साथ केसी यसपटक चुनावी मैदानमा छन् । उनको घरदैलोमा युवा पुस्तादेखि पाका पुस्ताका व्यक्तिहरुको ठूलो सहभागिता देखिन थालेको छ । स्पष्ट भीजनसहित चुनावी मैदानमा उत्रिएका केसीको पक्षमा सकारात्मक माहोल देखिएको छ ।
आज (मंगलबार) केसीले आफ्नो जन्मगाउँ विष्णुडोलमा कोणसभाको आयोजना गर्ने भएका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत सो कुरा जनाएका हुन् । उनले लेखेका छन्‘मेरा जन्मगाउँ विष्णुडोलमा आज मङ्गलबार साँझ साँढे ४ बजे कोणसभासहित सम्बोधनको कार्यक्रम रहेको हुँदा आम गाउँवासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीलाई सहभागी भइदिनहुन हार्दिक अनुरोध गर्दछु । स्थानः विष्णुडोल दोबाटो, समयः ठिक ४ः३० ।’