काठमाडौं, ३० कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाजुराका प्रतिनिधिसभा उम्मेदवार सहमहामन्त्री बद्री पाण्डेले बाजुरेली जनताको दह्रो साथ र समर्थन साथ विजयी हुने दाबी गरेका छन् ।
‘अहिले गठबन्धनका पक्षमा ठूलो जनलहर छ । हामी गणितीय र राजनीतिक दुवै हिसाबले अगाडि छौं । आठ पालिकामा भेटघाट गरें, अब अन्तिम पालिका जानु छ । त्यो मेरो घर भएको ठाउँ पनि हो । मैले मतदाताको दह्रो साथ र समर्थन पाएको छु । मैले गठबन्धनको मात्र होइन, एमालेका मतदाताको पनि सहानुभूतिको भोट पाउँछु । उहाँहरुले पटक पटक टेस्ट भएका, फेल भइसकेको र कलंकको टीका लागेको उम्मेदवारभन्दा स्वच्छ छविको प्रतिनिधि छान्न चाहनुभएको छ । अहिले सृदढ माहोल छ । चुनाव जित्न कुनै कठिनाइ छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले भने ।
तपाईंका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले कांग्रेसले कहिल्यै नजित्ने ठोकुवा गर्नुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा पाण्डेले थपे, ‘उहाँले जम्मा एकपटक जित्नुभएको हो, दुईपटक हार्नुभएको थियो । बाजुरामा कांग्रेसले २०४८ सालदेखि जित्दै आएको हो । हिजो चुनिएर गए पनि उहाँले बाजुराको समस्या उजागर गर्न सक्नुभएन । मन्त्रिपरिषद्मा गएर पनि प्रभावकारी भूमिका देखाउनुभएन । अझ मन्त्रीबाट निष्कासित नै हुनुभयो । उहाँको ध्यान बजेट र योजनामा भएन । अब म यहाँको समस्या केन्द्रसम्म पुर्याउँछु, समाधान खोजेर आउँछु । सरकार र जनताबीचको पुल बन्छु ।’
उनले आफू बाजुराको समस्या समाधानका लागि रचनात्मक विद्रोहको बाटो लिन पनि पछि नपर्ने बताए । पाण्डेले भने, ‘अहिले विकासका दृष्टिले बाजुरा ७७ औं जिल्लामा छ । अब यसलाई अरु जिल्लाको हाराहारीमा पुर्याउने काम पाँच वर्षभित्रै गर्नुपर्नेछ । आवश्यक परे म रचनात्मक विद्रोह गर्न तयार छु ।’ भौतिक पूर्वाधार, अल्लो, चुनढुंगा लगायतका उद्योगधन्दाको विकास र जिल्लाभित्रै रोजगारी सिर्जनालाई प्राथमिकता दिएको पनि नेता पाण्डेले बताए ।