काठमाडौं, ३० कात्तिक । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका काठमाडौँ क्षेत्र नं. १ का हाम्रो नेपाली पार्टीका उम्मेदवार डम्बर साहुलाई दलीय अवद्धता स्पष्ट नगरी प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।
“बालेनलाई लौरो हामीले नै दिएको हौँ, उहाँको समर्थन हामीलाई छ” भनी नेपाल प्रेस डटकमलाई दिएको अन्तरवार्ताको जानकारी आयोगमा पेश हुन आएको हुँदा सो विषयमा स्पष्टीकरण सोधिएको हो ।
स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंको दल नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम निर्वाचन आयोग नेपालमा दर्ता भएको हो । हरेक दलका उम्मेदवारले इमान्दारिपूर्वक दलीय अनुशासनमा बस्नुपर्छ भनी सम्झाई रहनुपर्ने विषयवस्तु होइन । तपाईंको दल हाम्रो नेपाली पार्टीलाई उक्त दलका उम्मेदवारले दलीय पहिचान स्पष्ट नगरी मत मागेको भन्ने बारे यसपूर्व नै लेखी पठाई सकिएको हुँदा तपाईं उक्त दलको उम्मेदवार समेतलाई सो विषयको जानकारी हुने विषयमा कुनै दुविधा हुन सक्दैन । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तरगत खण्ड (न) मा “कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था छ । पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र देहायका विषयमा निर्वाचन आयोग नेपालमा स्वयम उपस्थित भै लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
(क) निर्वाचन आयोगमा दर्ता भएबमोजिम तपाईंको दलको पूरा नाम के हो ?
(ख) स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ को उपदफा (१) मा “यस ऐन बमोजिम हुने निर्वाचनका लागि दल र स्वतन्त्र उम्मेदवारलाई वितरण गर्ने निर्वाचन चिन्ह आयोगले निर्धारण गर्नेछ”, सोही एेनको दफाको उपदफा (२) मा “उपदफा (१) बमोजिम निर्धारण गरिएको निर्वाचन चिन्ह दल र उम्मेदवारलाई तोकिए बमोजिम प्रदान गरिनेछ” र ऐ। दफाको उपदफा (३) मा “उपदफा (१) बमोजिम प्रदान गरिएको निर्वाचन चिन्ह त्यस्तो दलका उम्मेदवार वा दल बाहेक अरु कसैले पनि प्रयोग गर्न पाउने छैन” भन्ने व्यवस्था रहेको सन्दर्भमा तपाईंले “बालेनलाई लौरो चिन्ह हामीले नै दिएका हौँ” भनी भन्नु कानून सम्मत हो, होईन ?
(ग) तपाईंले “बालेनको समर्थन हामीलाई छ” भनेको सन्दर्भमा आयोगबाट भएको पूर्व पत्राचारमा काठमाण्डौ महानगरपालिकाका नगरप्रुमख बालेन्द्र शाहले निर्वाचन आयोगमा दर्ता कायम रहेको लौरो चिन्ह रहेको दलसँग निजको कुनै सम्बद्धता नरहेको साथै निजको सहमति बिना निजको आवद्धता देखाउन खोज्ने जुनसुकै दल वा उम्मेदवारलाई कानून बमोजिम कारवाही हुन लेखी आएको हुँदा तपाईंले दिनुभएको संलग्न अन्तरवार्ता बमोजिमको अभिव्यक्ति साँचो हो भनी पुष्टी गर्ने आधार कारण के छ ?
(घ) तपाईं हाम्रो नेपाली पार्टीको उम्मेदवार हो वा स्वतन्त्र उम्मेदवार हो ?
(ङ) तपाईंले आफ्नो दलीय आवद्धतालाई स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह “लौरो” स्वतन्त्र अभियान रहेको भनी प्रचारप्रसार गर्ने कार्यले निर्वाचन आचारसंहिता, २०७९ को उल्लङ्घन हुँदैन भन्ने आधार कारण के छरु तपाईंको दल हाम्रो नेपाली पार्टीलाई “लौरो” निर्वाचन चिन्ह स्वतन्त्र उम्मेदवारको भनी प्रचारप्रसार गर्ने कार्यले दलको उम्मेदवार हो वा स्वतन्त्र उम्मेदवार हो भन्ने बारेमा भ्रम सिर्जना भएको भनी यसपूर्व आयोगबाट पत्राचार समेत भै सकेको सन्दर्भमा तपाईं उक्त दलको उम्मेदवारबाट आयोगको निर्देशन विपरीत पुनस् सोही कार्य दोहोरिएबाट तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (४) बमोजिम एक लाख रुपैयासम्म जरिबाना र ऐ। दफाको उपदफा (४) बमोजिम उम्मेदवारी बदर सम्मको कारवाही किन गर्नु नपर्ने होरु स्पष्टीकरण स्पष्ट पार्न भनिएको छ ।