काठमाडौं, ३० कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले नेकपा (माओवादी केन्द्र) अब फुच्चे दल बन्ने दाबी गरेका छन् । हालै बंगलाचुलीमा आयोजित कार्यक्रममा गठबन्धन सरकारले देशको अर्थतन्त्र कमजोर बनाएको, विकासका काम ठप्प पारेको र देश विगार्ने काम मात्र गरेको आरोप लगाए ।
उनले देश बनाउनका लागि एमालेको सरकार बन्नु जरुरी छ भने । पोख्रेलले प्रतिनिधि सभामा ४२ सिटमा उम्मेदवारी दिएको माओवादी निर्वाचनपछि फुच्चे पार्टीमा दरिने र विस्तारै देशको राजनीतिबाट किनारा लाग्दैछ भने ।
माओवादी नेताहरूले हिजो जनतालाई देखाएका ठूला सपना एमालेले पूरा गर्ने बताउँदै भविष्य नभएको पार्टीमा नलाग्न र एमालेमा आउन महासचिव पोख्रेलले आग्रह गरे ।
माओवादीले पहिले सशस्त्र द्वन्द्वबाट मुलुकलाई कमजोर बनायो, अहिले सरकारमा रहेर अर्थतन्त्र ध्वस्त पारेर कमजोर पारिरहेको उनको भनाई थियो ।
हिजो शेरबहादुर देउवालाई देखाएर सोधा सिधा जनतालाई बन्दुक बोकाएको माओवादी नेतृत्वले आज उनै शेरबहादुरलाई प्रधानमन्त्रीका रुपमा बोकिरहेको बताउँदै महासचिव पोख्रेलले भने–प्रचण्ड र देउवा पहिले नै मिलेको भए १७ हजारको ज्यान जोगिन्थ्यो होला नि १ तिनका परिवारका सदस्य, आफन्तहरूले के भन्छन् होला ?’