काठमाडौं, ३० कार्तिक । सिरहा–३ को ‘ख’ मा जसपाकी उम्मेदवार रेणु यादव आफ्नो जितबारे ढुक्क छिन् । यादवले आफूले गरेको काम र मधेश आन्दोलनमार्फत अधिकार स्थापित गर्नु नै आफ्नो जितको पहिलो आधार भएको बताउने गरेकी छिन् । जसपा र एमालेकी साझा उम्मेदवार रहेकी यादवको पक्षमा पछिल्लो समय जनलहर व्यापक देखिएको छ । यादवले सिरहाको समग्र विकासमा आफ्नो तर्फबाट ठूलो योगदान पुर्याउँदै आएकी छिन् ।
समाजसेवीको छविबाट राजनीतिमा सक्रिय रेणुलाई युवादेखि बयोवृद्ध पुस्ताले औधी रुचाएका छन् । पार्टीका एजेण्डालाई स्थापित गर्न उनले खेलेको भूमिकाबाट नै उनीप्रति नेतृत्व सुरुदेखि नै सकारात्मक रहँदै आएको थियो । यसपटक अध्यक्ष उपेन्द्र यादवले नै प्रदेशसभाको लागि अघि बढ्न आग्रह गरेपछि उनी चूनावी मैदानमा उत्रिएकी हुन् । सो क्षेत्रमा प्रतिनिधिसभाका लागि एमालेका पोलिटब्युरो सदस्य लिलानाथ श्रेष्ठ जसपाको समर्थनमा चुनावी मैदानमा छन् ।
लिला र रेणु दुवैको जिल्लामा विकासप्रेमी नेताको छवि छ । रेणुलाई यतिवेला घरदैलोमा पार्टीभन्दा माथि उठेर अन्य दलप्रति आस्था राख्ने आमाबुवा तथा दाजुभाईहरुले मत दिने विश्वास दिलाएका छन् । शिक्षित र समाज बुझेको नेतृ भएकै कारण यादवको जित सुनिश्चित् रहेको उनको चुनावी कमाण्डर लालकिशोर यादवको दाबी छ ।
उनले भने,‘उहाँको काम गर्ने शैलीबाट हामी प्रभावित छौं । उहाँ जिल्लाकै नेता हो । विगतमा उहाँले गरेको काम र जागरण आन्दोलनमा पुर्याएको योगदान हेर्दा नै थाहा हुन्छ, उहाँ सबैको साझा नेता हो । अहिले जनताले उहाँजस्तो व्यक्तित्व सदनमा पुगेको हेर्न चाहनुभएको छ ।’
उनले घरदैलोमा पाएको उत्साह र जनताको माया अनि आर्शिवादका कारण रेणुको जित सुनिश्चित् भैसकेको दाबी गरे । उनले रेणुले जनताको मन धेरै पहिल्यै नै जितेकोले अब निर्वाचनमार्फत मत जितेर जनताको सेवामा समर्पित हुन बाँकी रहेको सुनाए ।