पर्सा, ३० कात्तिक । पर्सा जिल्लामा आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरुको सङ्ख्या बढेको छ । निर्वाचन कार्यालयका अनुसार पर्सा जिल्लामा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि एक सय ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आर्थिक राजधानी मानिने पर्सामा रहेका प्रतिनिधिसभाका चार पदका लागि ५३ जना र प्रदेशसभाका आठ पदका लागि एक सय आठ जना गरी कूल एक सय ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालय प्रमुख प्रमुख रञ्जिता झाले अनुसार प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएका उम्मेदवारमध्ये ५२ दशमलव १७ प्रतिशत स्वतन्त्र उम्मेदवार रहेको जानकारी दिए ।
निर्वाचन नजिकिएसँगै पर्सामा राजनीतिक दल तथा स्वतन्त्रहरुले चुनावी प्रसारप्रसारलाई तीव्र पारेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुले मतदातालाई आ–आफनो पक्षमा मतदान गर्न अनुरोध गर्दै घरदैलो तथा सभालाई तीव्रता दिएका हुन् ।
पर्सामा निर्वाचनका लागि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी (पुष्पलाल), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुुक्ति पार्टी, नेपाल जनता पार्टी, नेपाल सुशासन पार्टीलगातका दलसहित स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
पर्सामा प्रतिनिधिसभा अन्तर्गत क्षेत्र नम्बर ४ मा सबैभन्दा बढी र क्षेत्र नम्बर १ मा सबैभन्दा कम मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख रञ्जिता झाले जानकारी दिए ।
कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ मा ४४ हजार ९९ जना पुरुष र ३३ हजार पाँच सय ७८ जना महिला तथा दुई जना अन्य गरी कूल ७७ हजार ६ सय ७९ जना मतदात छन् भने क्षेत्र नं २ मा ४९ हजार ७५ जना पुरुष, ३७ हजार आठ सय ८७ जना महिला र चार जना अन्य गरी ८६ हजार नौ सय ६६ जना मतदाता छन् ।
क्षेत्र नं ३ मा ५१ हजार तीन सय ६६ जना पुरुष, ३९ हजार ६२ हजान महिला र चार जना अन्य गरी कूल ९० हजार चार सय ३२ जना मतदाता रहेका छन् भने क्षेत्र नं ४ मा ५० हजार तीन सय ६४ जना पुरुष, ४० हजार चार सय ८१ जना महिला र चार जना अन्य गरी ९० हजार आठ सय ५१ जना मतदाता छन् ।
पर्साको ४ प्रतिनिधि तथा ८ प्रदेश सभाका लागि कूल एक सय ६७ मतदानस्थल र चार सय १२ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा ३९ हजार १६ जना मतदाता छन् । यस क्षेत्रमा २२ मतदानस्थल र ४५ मतदान केन्द्र तोकिएको छ । त्यसैगरी प्रदेशसभा २ मा ३८ हजार ६ सय ६३ मतदाता छन् भने १२ मतदानस्थल र २४ मतदान केन्द्र छन् ।
निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा ४३ हजार आठ सय ४४ मतदाता छन् भने यस क्षेत्रमा १६ मतदातस्थल र ५१ मतदान केन्द्र छन् । साथै, प्रदेशसभा २ मा ४३ हजार एक सय २२ मतदाताका साथै २२ मतदानस्थल र ५१ मतदान केन्द्र छन् ।
निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा १ मा ४४ हजार तीन सय ९३ मतदाता छन् भने यस क्षेत्रमा २५ मतदानस्थल र ५८ मतदान केन्द्र छन् । यस क्षेत्र अन्तर्गत प्रदेशसभा २ मा ४६ हजार ३९ मतदाता छन् भने २५ मतदानस्थल र पाँच मतदान केन्द्र छन् ।
निर्वाचन क्षेत्र नम्बर ४ प्रदेशसभा १ मा ४४ हजार एक सय ७७ मतदाता छन् । यस क्षेत्रमा २५ मतदातनस्थल र ५५ मतदान केन्द्र तोकिएको छ । साथै प्रदेशसभा २ मा ४६ हजार ६ सय ७४ मतदाता छन् भने यस क्षेत्रमा २३ मतदानस्थल र ५७ मतदान केन्द्र छन् ।
पर्साको निर्वाचन क्षेत्र नं १ का सबै भन्दा बढी २१ जनाले उम्मेदवारी दर्ता गराएका छ भने सबै भन्दा कम क्षेत्र नं ४ मा मात्र १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । साथै, क्षेत्र नं २ र ३ मा ११÷११ जना गरी कूल ५३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये राजनीतिक दलबाट ३० जना र स्वतन्त्र २३ जना छन् ।
क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा १८ जना र प्रदेशसभा २ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । साथै, क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा ९ जना र प्रदेशसभा २ मा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर ३ प्रदेशसभा १ मा १२ जना र प्रदेशसभा २ मा १४ जना र क्षेत्र नम्बर ४ प्रदेशसभा १ मा १० जना र प्रदेशसभा २ मा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभामा ६१ जना स्वतन्त्र उम्मेदवार छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा एमाले गठबन्धनबाट जसपाका उम्मेदवार प्रदीप यादव र स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
नेपाली कांग्रेस पर्साका निर्वतमान जिल्ला सभापति द्विवेदीलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । कांग्रेससहितको पाँच दलको गठबन्धनबाट क्षेत्र नम्बर १ मा लोसपा नेता लक्ष्मणलाल कर्ण उम्मेदवार छन् ।
२०७४ को निर्वाचनमा यादवले कांग्रेसका अनिल रुङगटालाई चार हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभएको थियो । यादवले २१ हजार एक सय ३२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी रुङगटाले १६ हजार चार सय ८१ मत प्राप्त गर्नुभएको थियो ।
क्षेत्र नम्बर २ मा कांग्रेससहित पाँच दलीय गठबन्धनका तर्फबाट कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसिया र एमाले गठबन्धनबाट जसपाका सुरेन्द्रप्रसाद कुर्मीबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
गत निर्वाचनमा क्षेत्र नं २ बाट सफोरहका उम्मेदवार बिमल श्रीवास्तावले चौरसियालाई एक हजार चार सय ६५ मतले पराजित गर्नुभएको थियो । श्रीवास्तावले २१ हजार एक सय ६९ मत पाउँदा चौरसियाले १९ हजार सात सय चार मत प्राप्त गर्नुभएको थियो ।
गत निर्वाचनमा क्षेत्र नं ३ बाट ससफोरमका हरिनारायण रौनियारले कांग्रेसका सुरेन्द्र चौधरीलाई पराजित गरेका थिए । रौनियारले १५ हजार एक सय ६८ मत पाउँदा चौधरीले १३ हजार आठ सय एक मत प्राप्त गरेका थिए ।
गत निर्वाचनमा क्षेत्र नं ४ बाट ससफोरमका लक्ष्मणलाल कर्णले कांग्रेसका रमेश रिजाललाई ६ हजारभन्दा बढी मतले पराजित गरेका थिए । कर्णले २० हजार सात सय ३८ मत पाउँदा रिजालले १४ हजार सात सय दुई मत प्राप्त गरेका थिए । कर्ण यसपटक पाँच दलीय गठबन्धबाट पर्साको निर्वाचन क्षेत्र नं १ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फबाट उम्मेदवार छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाका १२ पदमा महिला उम्मेदवार जम्मा तीन जना छन् । जसमा प्रतिनिधिसभा सदस्य उम्मेदवारमा महिलाको सङ्ख्या शुन्य छ भने प्रदेशसभामा तीन जनाले उम्मेदवारी दिएका छन् । जनसमा क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा करिमा वेगमले स्वतन्त्र उम्मेदवारी दिएका छन् । साथै, क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट जसपाकी मधु गुप्ता रक्षेत्र नम्बर ४ प्रदेशसभा २ बाट माओवादी केन्द्रकी चाँद तारा कुमारीले उम्मेदवारी दर्ता गराएका छन् । रासस