काठमाडौं, ३० कात्तिक । राष्ट्रिय मामिला सरोकार समूहको सक्रियतामा सञ्चालित नागरिक संवादले स्थलगत भ्रमणसम्बन्धी प्रतिवेदन तयार गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गत कात्तिक २० गतेदेखि २५ गतेसम्म ११ जिल्लामा गरिएको स्थलगत भ्रमणबाट तयार पारिएको प्रतिवेदनबारे जानकारी दिइएको हो ।
सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन र गोरखाका मतदातासँग आसन्न निर्वाचनलाई हेर्ने दृष्टिकोणबारे अन्र्तक्रिया गरी प्रतिवेदन तयार पारिएको हो । अध्ययनदलमा मुलुकका विभिन्न क्षेत्रमा ख्याँतिप्राप्त गरेका व्यक्तित्वहरु पनि सम्मिलित थिए ।
संवादका संयोजक डा. द्धारिकालाल ढुंगेलले राष्ट्रिय मामिला सरोकार समुह आफूसहित सात जनाले स्वफुर्त रुपले खुकुलो सञ्जालको स्थापना गरेको बताएका छन् । सञ्जाल कुनै सरकारी कार्यालयमा दर्ता नभएको, स्वस्फुर्तरुप, गैरसरकारी नाफा नकमाउने खुकुलो सञ्जाल उनले थप स्पष्ट पारे ।
उनले भने,‘सन्जालमा आबद्ध व्यक्तिहरुले खल्तीबाट ५ हजार रुपैयाँको दरले जम्मा गरेर कोष बनाएका छौं, प्रत्येक महिनाको पहिलो शुक्रबारका दिन ३ देखि ५ बजेसम्म देशका समसामयिक विषयहरुमा विज्ञहरुलाई आमन्त्रण गरेर खुला संवाद सञ्चालन गर्दै आएका छौं, आएको आजसम्म संवाद सातपटक सञ्चालन गरिएको छ, अन्तिम कात्तिक ४ गते शुक्रबार आसन्न निर्वाचनबारे आमनागरिकको कस्तो सोचाइ छ, भन्ने विषयमा छलफल गरियो ।’
खुल्ला छलफलबाट आएको सुझावअनुसार विभिन्न जिल्लामा स्थलगत भ्रमण गरेर आम नागरिकको निर्वाचनबारे धारणा बुझिएको उनले बताए । प्रदेश नं.२ का प्रदेश प्रमुखको खर्चमा राजविराजमा कार्यक्रमको सुरु गरिएको उल्लेख गर्दै उनले अन्य प्रदेशमा भने आ–आफ्नै खर्चले अध्ययन गरिएको जानकारी दिए ।
उनले भने,‘आम मानिसले निर्वाचनलाई कसरी हेरेका छन्, कत्तिको उत्साह छ, विगतमा निर्वाचित भएर गएका प्रतिनिधिहरु जनताप्रति कत्ति उत्तरदायी भए, नागरिकका समस्याप्रति कति संवेदनशील भए, कस्ता नेतालाई चुनेर पठाउन मतदाता आँतुर छन्, मतदाताको स्थिति कस्तो रहेको छ, मतदातालाई जागरुक बनाउन निर्वाचन आयोग कत्तिको सक्रिय रहेको छ । स्थलगत रुपमा अध्ययन गर्ने उद्देश्यले पत्रकारसहित १६ जनाको टोली गएका थियौं र अध्ययन गरी प्रतिवेदन समेत तयार गर्न सकेका छौ ।’
वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले सिजिएमआई डटकममा पनि अध्ययनको प्रतिवेदन राखिने बताएका छन् । उनले एक सातासम्म गरिएको अध्ययनबाट राजनीतिक दलप्रति आम नागरिकहरु निराश भएको पाइएको बताए । जनता आँफै आवद्ध भएका दल र नेताहरुको समेत आलोचना गर्र्दै हिँडेको उनको दाबी छ ।
उनकाअनुसार अलमलमा परेका जनताहरुले भोट कहाँ दिने त्यसको लागि उपयुक्त विकल्प पाइरहेका छैनन् । जनता आफ्नै नेताहरुको कटु आलोचनापछि उत्तम विकल्प नपाइरहेको पनि उनले जिकिर गरे । दलहरुको सिद्धान्त र व्यवहारगत आचरण खस्कदै गएको र नागरिकको अपेक्षा पुरा गर्ने क्षमता गुमाउँदै गएको प्रतिवेदनमा उल्लेख गरिएको स्पष्ट पारे।
यसैगरी, सहायकरथी डा. केशरबहादुर भण्डारीले आम नागरिकको न्यूनतम आधारभुत आवश्यकतामा पनि सरकार पुग्न नसकेको अध्ययनमा देखिएको बताएका छन् । समानुपातिक निर्वाचन प्रणालीमा सम्बन्धितलाई सहभागी नगराएर आफन्त तथा नातेदारलाई सुविधा दिइएको र यस्तो हुन नदिन आवश्यक पहलको आवश्यकता देखिएको उनको भनाइ थियो । उनले भने,‘यो विकृति हो रोक्न जरुरी रहेको छ ।’
त्यस्तै, सहायक रथी भरतबहादुर रायमाझीले ५ रात ६ दिन लगाएर ११ वटा जिल्लाको भ्रमण गरेर प्रतिवेदन तयार पारेको सुनाउँदै भ्रमणको क्रममा नेपाल–भारत सिमाना, विद्यालयका शिक्षक, पत्रकार, चिया पसले लगायतसँग अन्तक्रिया गरेको स्पष्ट पारे । आगामी निर्वाचनबारे मतदाताहरुमा धेरै उत्साह नदेखिएको उनले बताए । उनले भने,‘कुनै पार्टीमा लागेका व्यक्तिहरुमा मात्रै उत्साह देखियो र न्युट्रल मतदाताहरुमा उत्साह देखिएन ।’