जुम्ला, मंसिर २। मदिरा सेवन गर्दैनन्, कर्णालीका धामी झाँक्री । ‘बासी खाना नखाने’ उनीहरूको अर्को नियम । धामीको ‘हेडक्वाटर’ मानिने ‘देउथलो’ घरमा हरेक दिन लिपपोत हुन्छ, सफा राखिन्छ ।
‘देउथलो’ सरकारको मन्त्रिमण्डलजस्तै भक्तजनका समस्याका समाधान निकालिने धामी बैठक कक्ष हो । त्यहाँ मदिरा, बासीखाना निषेध छ । जतिबेला अस्पताल र डाक्टर थिएनन्, त्यतिबेलै ‘बासी खाना र मदिरा खानु हुँदैन’ भनेर धामी झाँक्रीले उहिल्यै सिकाएको कथन छ ।
कर्णालीका धामी गाउँका नेतै हुन् । गाउँ–समाजमा उनीहरूलाई आदर्श मानिन्छ । तर, धामी झाँक्रीमाथि ‘कुसंस्कार विजारोपण गरेको’ आरोप पनि लाग्दै आएको छ । यद्यपि, जीवनशैली र जनजीविकाका कारण कर्णालीमा ‘छुई प्रथा’जस्ता कुप्रथा स्थापित भएको बुढापाका औंल्याउँछन् ।
‘जुम्लामा बाडा जोडिएका दुईकोठे घरमा रक्तश्राप भएकी महिलालाई छुट्टै सुत्दा चिसो हुने हुँदा गोठमा सुताइएको हो,’ हिमा १ देयर गाउँका दत्तबहादुर शाही भन्छन्, ‘अहिले व्यवस्थित घर बन्न थालेपछि घरकै कोठामा बस्छन् ।’
पछिल्लो समय जुम्ली धामी झाँक्रीसमेत कुरीतिविरुद्ध आफ्नो भूमिका बढाउन थालेका छन् । आत्मसम्मानका लागि सहकार्य क्याड नेपालले गाउँगाउँका धामी झाँक्रीलाई बालविवाह, छाउपडी प्रथालगायत कुरीति न्यूनीकरणमा सरिक गराउँदै आएको छ ।
बालविवाह रोक्न लगन हेराउन आउनेलाई उमेर सोध्ने गरेको हिमा–१ का लामाविष्णुका धामी करबहादुर शाही बताउँछन् ।
‘लगन हेराउने बेला दुलाहादुलहीको उमेर सोध्छु, २० वर्षमुनिका भए तीन वर्षसम्म विवाहको योग नभएको र विवाह गरे ग्रहदशाले भेट्टाउँछ भनेर भन्छु, यसले गाउँमा बालविवाह रोकिएको छ,’ उनी भन्छन् । राजधानी दैनिकबाट