काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनका कारण मतदातामा उदासीनता आएको हुन सक्ने बताएका छन् ।
‘यसपटक स्थानीय तहमा जस्तो मतदान भएन । मतदान प्रतिशत कम भएको छ । दुवै ठूला दल गठबन्धन गरेर निर्वाचनमा गएका हुनाले कतिपय ठाउँमा परिणाम स्वभाविक आइहाल्छ भनेर सक्रियता नहुने र मतदातामा उदासीनता देखिएको हुन सक्छ । तैपनि जनताले मत दिइसकेका छन् । केही दिनमा परिणाम आइहाल्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. महतले भने ।
नेपाली कांग्रेसलाई उछिन्ने ताकत कुनै दलसँग नभएको पनि उनले बताए । डा. महतले थपे, ‘गठबन्धनमा चित्त नबुझाउने प्रवृत्तिका कारण स्वतन्त्र पार्टीको पक्षमा भन्दा पनि विभिन्न रुपरंगमा असन्तुष्टि प्रकट भएको हुन सक्छ । गठबन्धनका कारण सशक्त ढंगले वकालत गर्ने काम नभएको हुन सक्छ । तर दलहरु असफल भएका छैनन् । लोकतन्त्रमा दलको विकल्प छैन । पुरानै दलहरु नै ठूला पार्टी हुन्छन् । कांग्रेसलाई स्वतन्त्र पार्टीले कताबाट उछिन्नु ? कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्छ । स्वतन्त्रहरु सत्तामा आउने कुरा दिवास्वप्न मात्र हो ।’
राप्रपा, नेकपा एमाले, स्वतन्त्र पार्टीको प्रवृत्ति एउटै भएको आरोप पनि उनले लगाए । डा. महतले भने, ‘लोकतन्त्र र अहिलेको संविधान नै खराब हो, पहिले नै सुनौलो थियो भन्ने किसिमबाट सामाजिक सञ्जालमा अनर्गल प्रचार भएका छन् । त्यसको धेरथोर प्रभाव परेको हुन सक्छ । यसलाई राप्रपा, नेकपा एमाले, स्वतन्त्र पार्टीले मलजल गरेका छन् । उनीहरुले आआफूलाई प्रोजेक्ट गरेका छन् । यो एकैखाले प्रवृत्ति हो ।’