Logo

तेस्रोपटक संसद् छिरेका राजन केसी भन्छन्- नेतृत्वमा युवा आउन् भन्ने जनचाहना छ



काठमाडौं १० का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी (राजन)ले विगतमा काम गरेको हुनाले नै आफूलाई जनताले तेस्रो पटक जिताएको बताएका छन् ।
‘मैले आफ्नो क्षमताले भ्याएसम्म जनताको सेवा गरेको छु । त्यसैले तेस्रो पटक पनि अत्यन्त स्नेहका साथ जिताएका छन् । त्यसका लागि म आम मतदाताप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु । म सकेसम्म निष्पक्ष र निष्कलंक भएर पूर्वाधार विकासका बाँकी काम पूरा गर्नेछु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै केसीले भने ।
कृषि उपज र धार्मिक पर्यटनको स्थल दक्षिणकाली, नेवाः सभ्यताको बाहुल्य भएको, एजुकेसनको हब कीर्तिपुर र राजधानीको प्रवेशद्वार, सुन्दर र पर्यटकीय थलो चन्द्रागिरि नगरपालिकाको प्रतिनिधित्व गर्न पाएकामा आफू खुसी रहेको पनि उनले बताए । उनले भने, ‘हामीसँग भएका साधन र स्रोतको अधिकतम प्रयोग गरेर रोजगारी र जीवनस्तर बढाउने अनि मुलुकलाई समृद्ध बनाउने दिशामा लाग्छु । नत्र जनताले विकल्प खोज्छन् भन्ने देखाइसकेका छन् ।’
उनले प्रतिनिधिसभामा पाँच दलीय गठबन्धनको बहुमत आउने पनि बताए । तर सरकार युवाको चाहना अनुसार बन्नुपर्ने पनि उनले औंल्याए । केसीले भने, ‘अहिले नै को प्रधानमन्त्री बन्छ भनेर म भन्न सक्दिनँ । तर संसदीय दलमा छलफल गरेर नेता चयन हुन्छ । दलको नेता नै प्रधानमन्त्री बन्छ । चाहना त शेरबहादुर दाइले अन्तिम पटक भन्नुभएको छ । प्रकाशमान, गगन, शेखर रामचन्द्रको पनि चाहना छ । जनताको चाहना युवामा छ । त्यसैले जुनसुकै रुपमा युवा नेतृत्व आउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्