Logo

अहिलेको गठबन्धन कायम रहँदैन, ठूलो दलको भूमिका एमालेले निर्वाह गर्छः गोकर्ण विष्ट



काठमाडौं, ८ मंसिर । गुल्मी २ का नवनिर्वाचित सांसद नेकपा एमालेका सचिव गोकर्णराज विष्टले पाँच दलीय गठबन्धन कायम रहने सम्भावना नभएको बताएका छन् । तर सरकार बनाउने नाममा एमालेले अनुचित अभ्यास नगर्ने उनले स्पष्ट पारे ।
‘अहिलेको अवस्थामा बहुमत कसैको आउने देखिँदैन । न एमालेले बहुमत आउँछ, न त कांग्रेसले बहुमत ल्याउँछ । तर अहिलेको गठबन्धन कायम रहने म सम्भावना देख्दिनँ । उनीहरुले नेकपा एमालेलाई एक्ल्याउनका लागि अनेक गतिविधि गरे । तर यो गठबन्धन सरकार निर्माणसम्म कायम रहला र अगाडि बढ्ला भन्ने आधार छैनन् । नेपालको सन्दर्भमा चौबिस घन्टामै राजनीतिक समीकरण बदलिएका उदाहरण छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विष्टले भने ।
उनले नेकपा एमाले पहिलो पार्टी हुने सम्भावना जीवितै रहेको दाबी पनि गरे । उनले भने, ‘एमाले सरकार निर्माणका लागि आतुर छैन । तर देशको समृद्धि र रुपान्तरणको नेतृत्व लिन ठूलो दलको हिसाबले जिम्मेवारी पूरा गर्नुपर्ने हुन सक्छ । तर सरकार बनाउनकै लागि संसदीय अभ्यास नै बदनाम हुने गरी अनुचित काम गर्दैनौं । जनताको आशा र भरोसा जोगाउने काम गर्छौं ।’
तेस्रोपटक सांसदका रुपमा विजयी विष्टले जनताले दिएको जिम्मेवारी पूरा गर्ने बताए । उनले भने, ‘यसमा दम्भ राख्नुपर्ने आवश्यकता छैन । नयाँ पार्टी र नयाँ पुस्ता उदाइरहेका छन् । अहिलेका दलले भन्दा राम्रो काम गर्छन् कि विकल्प दिन्छन् भन्ने जनअपेक्षा छ । एमालेले आफ्ना कमीकमजोरीलाई सुधारेर सुशासन, विकास र समृद्धिको जनअपेक्षा पूरा गर्न लाग्छ । त्यो एमालेबाटै सम्भव छ ।’



प्रतिक्रिया दिनुहोस्