नवलपरासी (बर्दघाट–सुस्तापूर्व), मंसिर ९ । जिल्लाको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले नेकपा (एमाले)को तीन दशक लामो विरासत भत्काएको छ । सत्ता गठबन्धनका दलका साथ पाएर उम्मेदवार बनेका कांग्रेस नेता विष्णु कार्कीले एमालेको ३० वर्षे विरासत भत्काएका हुन् ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आज सार्वजनिक हुँदा कांग्रेसका उम्मेदवार कार्कीले एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीलाई दुई हजार २१ मतान्तरले पराजित गरे । यहाँबाट निर्वाचित कार्कीले ३६ हजार एक सय चार मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी एमालेका क्षेत्रीले ३४ हजार ८३ मत पाए ।
नवलपुरको निर्वाचन क्षेत्र नं २ बाट विसं २०४८ को निर्वाचनमा एमालेका उम्मेदवार मोजीलाल थनेत थारू निर्वाचित भएका थिए । त्यसैगरी २०५१ को मध्यावधि निर्वाचनमा एमालेका चन्द्रमणि खराल यसै क्षेत्रबाट निर्वाचित बने। विसं २०५६ मा भएको आमनिर्वाचनमा एमालेका तर्फबाट पुनः मोजीलाल थनेत थारू निर्वाचित भए ।
पहिलो संविधानसभा सदस्यको निर्वाचन २०६४ मा एमाले तेस्रो शक्ति बन्दासमेत यस क्षेत्रबाट एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेल निर्वाचित भएका थिए । त्यसैगरी दोस्रो संविधानसभा सदस्यको निर्वाचन २०७० मा एमालेकै जीवन श्रेष्ठ तथा आमनिर्वाचन २०७४ मा एमालेका तिलबहादुर महत क्षेत्री यहाँबाट निर्वाचित भए ।
उनै क्षेत्री अहिले संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार कार्कीसँग दुई हजारभन्दा बढी मतान्तरले पराजित भएका हुन्। यहाँको दुवै प्रदेशसभामा एमालेका उम्मेदवारले ठूलो मतान्तरले जित निकालेका थिए ।
नवलपुर–२ मा अघिल्लो निर्वाचन २०७४ मा कार्की एक हजार तीन सय तीन मतले क्षेत्रीसँग पराजित भएका थिए। तत्कालीन समयमा महतले ३९ हजार ५३ मत प्राप्त गर्दा कार्कीले ३७ हजार सात सय २० मत प्राप्त गरेका थिए ।