काठमाडौं, १५ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं महोत्तरी-३ का नवनिर्वाचित सांसद महन्थ ठाकुरले मधेस प्रदेशमा आफ्नो दलले नहारेको बरु उम्मेदवारहरु हारेको बताएका छन् ।
‘हामी अन्तिम समयमा गठबन्धनमा गयौं । त्यहाँ थोरै सिट पाइयो । प्रतिनिधिसभामा सात उठेकामा चारवटा जित्यौं । मधेसमा नै तीन दलतिर भोट बाँडियो । भोट त कांग्रेसको पनि कम आएको छ । हाम्रो दलले हारेको छैन, उम्मेदवार हारेको हो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ठाकुरले भने ।
मधेसमा लोसपा र जसपाको ठाउँमा जनमत पार्टी उदायो नि भन्ने प्रश्नमा उनले भने, ‘लोकतन्त्रमा सबै नेता सधैंका लागि हुँदैनन् । सामािजक र आर्थिक परिवर्तन शिर काटेर हुँदैन । मधेसमा जति पार्टी उदाए पनि सत्ताको केन्द्र पहाड छ । सीके राउत र रेशम चौधरी पहाड उक्लन सक्दैनन् ।’
आफूलाई जनताले मन पराएकाले जितेको ठाकुरले दाबी गरे । उनले भने, ‘शुभेच्छाले मात्र विकास हुँदैन, गर्नुपर्ने मानिसले गर्नुपर्छ । जनतालाई विकास चाहिएको छ । त्यसैले मलाई जिताए । जनताको गुनासो जिल्लामा कम जाने गरेको भन्ने छ । त्यो कुरा आधा सही छ आधा गलत । तैपनि म महिनामा एकचोटि गएकै छु । जाँदा पनि टेन्ट गाडेर बस्दिनँ । त्यसैले धेरैजनासँग भेट हुँदैन ।’ उनले मधेसबासीले नागरिकता विधेयक रोक्नेलाई नै जिताएको भन्दै व्यंग्य पनि गरे ।
केपी ओलीले लोसपालाई समेत ल्याएर सरकार बनाउँछु भनिरहनुभएको छ, पाँच दलीय गठबन्धनको सरकार बन्यो भने तपाईं शेरबहादुर देउवासँग रहनुहुन्न भन्ने पत्रकार धमलाको प्रश्नमा ठाकुरले भने, ‘हामी गठबन्धनकै साथमा छौं । ओलीजी नेता हो, उहाँलाई भविष्यवाणी गर्ने छुट छ । उहाँलाई प्रधानमन्त्री हुने इच्छा होला । म उहाँलाई शुभकामना भन्न सक्छु ।’
तपाईं पनि प्रधानमन्त्रीको उम्मेदवार हो भन्ने प्रश्नमा ठाकुरले थपे, ‘प्रत्येक सांसदलाई मन्त्री, प्रधानमन्त्री बन्ने अधिकार हुन्छ । सबैको प्रमाणपत्र र सीमारेखा एउटै हो । सांसद नबनीकन न दलको नेता हुन्छ, न त प्रधानमन्त्री हुन्छ । मेरो पनि प्रधानमन्त्री बन्ने योग्यता पुग्छ । तर मैले आफू प्रधानमन्त्री बन्ने भनेको छैन ।’
तपाईं राष्ट्रपति बन्न तयार हुनुहुन्छ भन्ने अर्को प्रश्नमा ठाकुरले भने, ‘यो अनावश्यक प्रश्न हो । प्रधानमन्त्री बन्न मेरो योग्यता पुगिसकेको छ । राष्ट्रपति बन्न सांसद हुुनु पर्दैन ।’ कांग्रेसमा प्रधानमन्त्रीमा तपाईंको रोजाइ रामचन्द्र पौडेल कि शेरबहादुर देउवा भन्ने प्रश्नमा उनले भने, ‘दलको नेता कांग्रेसले चुन्ने हो । मेरो शुभेच्छाले मात्र केही हुने होइन । कांग्रेसमा दुईजनाको मात्र किन ? चारपाँच जनाको नाम आएको छ ।’ लोसपा अध्यक्ष ठाकुरले संविधान संशोधन र नागरिकता विधेयक पारित गर्न आफू लागिपर्ने पनि बताए ।