काठमाडौं, मंसिर १९ । फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको राउण्ड १६ को खेलमा फ्रान्सले पोल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
फ्रान्सको जितमा किलीयन एम्बाप्पेले दुई गोल गरेका थिए भने ओलिभर जिरोउडले एक गोल गरेका थिए । फ्रान्सका लागि जिरोउडले खेलको ४४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई शुरुवाती अग्रता दिलाएका थिए ।
जिरोउडले यो गोलपछि फ्रान्सका लागि सबैभन्दा बढी ५२ गोल गर्ने खेलाडी बनेका छन् । उनले थिएरी हेनरीको ५१ गोलको रेकर्डलाई तोडेका छन् । त्यस्तै एम्बाप्पेले खेलको ७४औं र ९१औ मिनेटमा गोल गरेका थिए ।
एम्बाप्पेले यस विश्वकपमा यो सहित ५ गोल गरेका छन् । साथै उनी विश्वकपमा गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी रहेका छन् ।
साथै विश्वकपमा अहिलेसम्म एम्बाप्पेले गरेको यो नवौं गोल हो । त्यस्तै पोल्याण्डका लागि एक गोल रोबेर्ट लेवानडोस्कीले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा पेनाल्टी मार्फत गरेका थिए ।
यो हारपछि पोल्याण्डको विश्वकप यात्रा टुंगिएको छ । अब फ्रान्सले क्वाटरफाइनलमा ईङ्ल्याण्ड सेनेगलबीचको विजेतासँग खेल्ने छ ।