काठमाडौं, १९ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले नयाँ सरकार निर्माणलाई लिएर आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोहोरो भूमिका निर्वाह नगरेको दाबी गरेका छन् ।
‘हाम्रो पार्टी अध्यक्ष प्रचण्डको भूमिका कहिले पनि दोहोरो छैन, सदैव सीधा र प्रस्ट छ । प्रचण्ड जे भन्नुहुन्छ, त्यो गर्नुहुन्छ । जे गर्नुहुन्छ, त्यही भन्नुहुन्छ । यसबारे पार्टीले कुनै निर्णय गरेको छन । हामी गठबन्धनबाट विचलित छैनौं । गठबन्धनबाट दायाँबायाँ गर्दैनौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले भने ।
अस्ति पार्टी प्रवक्ता कृष्णबहादुर महराको ‘टङ स्लीप’ हुँदा अतिरञ्जित प्रचारबाजी भएको आरोप पनि उनले लगाए । शर्माले थपे, ‘अस्तिको सचिवालय बैठकमा सरकार निर्माणमा एमालेसँग सहकार्य गर्न सकिने प्रसंग उठेको थिएन । महराले कसरी भन्नुभयो र बाहिर कसरी गयो ? त्यसले भ्रम सिर्जना भयो । मिडियामा हाम्रा विरुद्ध अतिरञ्जित प्रचारबाजी हुने गरेको छ । मलाई लाग्छ, बोल्ने सन्दर्भमा महराको टङ स्लीप भयो होला । पार्टी अध्यक्ष र महासचिवले तुरुन्त खण्डन गरिसक्नुभएको छ । यो पार्टीको स्प्रीटभन्दा फरक कुरा हो ।’
अहिलेको अवस्थामा गठबन्धनबाट सरकार बनाउनु नै उपयुक्त, प्राकृतिक र इमानदारी हुने शर्माले औंल्याए । उनले भने, ‘अर्को गठबन्धन अहिलेको आवश्यकता होइन । हामी यसभित्रबाटै सरकार बनाउँछौं । सरकार बनाएर राजनीतिक स्थिरता दिन्छौं भनेर जनतामा गएका हौं । जनादेश पनि यही हो । यसबाटै राजनीतिक चरित्र प्रदर्शन हुन्छ ।’
अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि प्रचण्ड हो भन्ने पत्रकार धमलाको प्रश्नमा शर्माले थपे, ‘हामीले प्रचण्ड प्रधानमन्त्रीको उम्मेदवार हो भन्ने निर्णय गर्न हाम्रो बहुमत ल्याउन सक्नुपर्छ । प्रचण्ड अप्ठर्यारो स्थिति फाइदा लिने भन्दा पनि त्यागको संकल्प गर्ने नेता हो । हामी पाँच वर्षपछि फेरि निर्वाचन आउँछ भन्ने सोचेर काम गर्नुपर्छ । प्रधानमन्त्री को बन्छ भन्ने कुरा अड्कलबाजी र प्रचार गर्ने कुरा होइन । यो गठबन्धनका जिम्मेवार र परिपक्व नेताहरु बसेर टुंग्याउने विषय हो । दलको संख्या र शक्तिअनुसार सरल ढंगले टुंगिन्छ । अहिले कसको आवश्यकता छ, त्यसअनुसार गठबन्धनले निर्णय गर्छ ।’
गठबन्धन दलहरुको बैठक आज दिउँसो ३ बजे बस्दैछ । बैठकमा निर्वाचनको समीक्षाका साथै सरकार गठनको विषयमा छलफल हुने उनले शर्माले बताए ।