Logo

न्यायालयलाई दबाब र प्रभावमा राख्नु दुर्भाग्यपूर्णः प्रदीप ज्ञवाली



काठमाडौं, २४ मंसिर । नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग दुषित मनसायका साथ लगाइएको पुष्टि भएको बताएका छन् ।
‘अहिले नेकपा एमालेले व्यक्तिलाई साथ दिएको होइन, विधि र प्रणालीअनुसार अघि बढ्नुपर्छ भनेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई महाभियोग लगाइँदा दूषित मनासाय राखिएको थियो । नत्र २०७८ फागुनमा महाभियोग दर्ता गरेर भदौसम्म कार्पेटमुनि राखिने थिएन । २५ प्रतिशत सांसदले महाभियोग लगाएर सधैंभरि अल्झाइरहनु गलत नजिर बसेको छ, यसले सबैलाई दुःख दिने निश्चित छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले भने ।
संसदका महासचिवको निलम्बन फुकुवाको पत्र उचित भएको दाबी पनि उनले गरे । ज्ञवालीले थपे, ‘कतिपय विषय र मुद्दा समयक्रममा असान्दर्भिक र अप्रासंगिक हुन्छन् । पुरानो संसद्का सबै कुरा कायमै रहन्छ भनेर जिद्दी गर्न मिल्दैन । संसदको प्रशासनिक विषयको पत्राचार त संसदकै महासचिवले नै गर्ने हो । त्यो स्वाभाविक हो ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चोलेन्द्रशमशेरको सेटिङमा संसदको महासचिवले पत्राचार गरेको कुरा आएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा ज्ञवालीले भने, ‘नेकपा एमालेको निर्देशनमा महासचिवले पत्र लेखेको तपाईंले पुष्टि गर्न सक्नुभयो भने मलाई रोजेको सजाय दिन सक्नुहुन्छ । मिडियामा वाहियात कुरा आइरहेको छ । मिडियाले सत्यतथ्य सम्प्रेषण गर्नुपर्छ । न्यायालयको बेथिति र अराजकताबारे बोल्ने हिम्मत गर्नुपर्छ ।’
पाखुरा सुर्केको भरमा न्यायालयलाई दबाब र प्रभावमा राख्नु दुर्भाग्यपूर्ण हुने पनि उनले औंल्याए । ज्ञवालीले भने, ‘सर्वोच्च अदालतमा तीन हजार मुद्दा वर्षौंदेखि थन्किएका छन्, तर चोलेन्द्रशमशेरको मुद्दा कति चाँडै फैसला भएको ? प्रायोजित मुद्दा प्रायोजित इजलासमा फैसला गर्नु दुर्भाग्य हो । तर्कमा गर्नुपर्ने वकिल नै सडकमा ढुंगामुढामा उत्रिएका छन् । पाखुरा सुर्केको भरमा न्यायालय चलाउन मिल्दैन ।’
गठबन्धनले सरकार निर्माण नसके एमाले स्वतः अगाडि आउने पनि ज्ञवालीले बताए । उनले भने, ‘एउटा दललाई घेराउ गरी ६ दलका १५३ जना सांसद गठबन्धन गरेर जाँदा पनि सामान्य बहुमत समेत ल्याउन सकेनन् । एमालेले पनि सोचेजस्तो सिट ल्याउन सकेन । यो खण्डित खालको जनादेश हो । देश डरलाग्दो अस्थिरताको चक्रव्यूहमा जाने भो । धमिलो पानीमा माछा मार्ने खेल हुने भए । यसले जनतामा झन् ठूलो निराशा छाउने भो । तर उहाँहरुले निकास दिनुभएन भने हामी वैकल्पिक सरकार दिन तयार छौं । तर जस्तोसुकै शक्तिलाई काँधमा बोकेर एमाले सरकारमा जाँदैन । हामी त्यो दौडमा छैनौं ।’



प्रतिक्रिया दिनुहोस्