Logo

कर्मचारी र तस्करको मिलोमतोमा सखाप हुँदै रौतहटको वन



रौतहट, मंसिर २५ । वन कर्मचारी र काठ तस्करको मिलोमतोमा रौतहटको वनमा व्यापक तस्करी हुने गरेको पाइएको छ। रौतहटको वनबाट काँचो रुख कटान भएको अवस्थामा दर्जनौँ ठुटो देखिएको छ। एकै ठाउँमा दर्जनौं रूख कटान गरिएको देखिएको छ।

रौतहटको बृन्दावन नगरपालिका १ मा रहेको रामलाल बृन्दावन साझेदारी वनअन्तर्गत बलेरीखोरको जंगलमा व्यापक रूख कटान गरिएको देखिएको छ। गत दुई हप्तामा २७ भन्दा बढी रूख कटान गरिएको रूखको ठपुष्टि गरेको छ। रातिको समयमा रूख कटान गरी ट्र्याक्टर, जिप तथा मोटरसाइकल र टायर गाडामा लोड गरी तस्करहरूले लाने गरेको स्थानीयको भनाइ छ। सर्लाहीका काठ तस्करहरूले पनि रौतहटको वनबाट तस्करी गरी लाने गरेको पनि देखिएको छ। तस्करहरूले मुख्य गरी सालको काँचो र पातलो तथा मझौला किसिमको रूखलाई निसाना बनाउने गरेको देखिएको छ।

रौतहटको रंगपुर तथा गैंडाटार, पौराई, लमाहा लगायतको क्षेत्रको जंगलबाट पनि काठ तस्करी हुने गरेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको समय पारेर बृन्दावन क्षेत्रमा व्यापक काठ चोरी भएको देखिएको छ।

जिल्ला वन कार्यालय रौतहटका डिएफओ सुनिल कुमार कर्णले वृन्दावन क्षेत्रमा तिन ओटा काँचो र एउटा सुकेको सालको रूख कटान भएको आफूहरूले पाएको बताउँदै नियन्त्रणको लागि सबै उपाय अपनाइएको जानकारी गराएका छन्। बागमती नदीको पानी सुकेको कारण सर्लाहीतिरबाट काठ तस्करहरू रातिको समय पारेर आउने गरेको बुझिन आएको र नियन्त्रणको लागि रात्री गस्तीमा व्यापक वृद्धि गरिएको दाबी डिएफओ कर्णको छ।

यसै क्रममा दुई दिन पहिले बाग्मती नदी हुँदै सर्लाहीको कर्मैयाबाट काठ चोरी गरेको अवस्थामा ३५ वर्षीय ईश्वर चौलागाईंलाई नियन्त्रणमा लिइएको बताएका छन्। साथै करिब दुई सय फिट काठ पनि बरामद भएको डिएफओ कर्णको दाबी छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्