काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाजुराका नवनिर्वाचित सांसद बद्री पाण्डेले धेरैजसो समानुपातिक सिट महिलालाई छुट्याउनु पर्दा सदनमा केही क्लस्टरका पुरुष छुटेको बताएका छन् ।
‘समानुपातिक सिट छनोट निकै पेचिलो भयो । कुन क्लस्टर राख्ने, कुन नराख्ने ? आठ क्लस्टरमध्ये तीनजनाको भन्दा बढीको प्रतिनिधित्व गर्न सकिएन । आठवटै क्लस्टरमा सदनमा जानैपर्ने नेताहरु हुनुहुन्थ्यो । तीन प्रदेशमा एक जना पनि पुरुष समावेश भएनन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले भने ।
छुटेका क्लस्टरलाई कसरी मिलाउनुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा पाण्डेले भने, ‘आदिवासी जनजातितर्फ गोपालमान श्रेष्ठलाई समावेश गर्न सकिएन । मुस्लिमतर्फ सहमहामन्त्री फर्मुल्लाह मन्सुर अट्नुभएन । थारुमा योगेन्द्र चौधरी समेटिन सक्नुभएन । यसमा थुप्रै क्लस्टर छुटेका छन् । पिछडिएको क्षेत्र छुटेको छ । महत्त्वपूर्ण व्यक्ति छुटेका छन् । गोपालमान श्रेष्ठ आफैं बालुवाटारमा हुनुहुन्थ्यो । उहाँसँग सभापतिले केही भन्नुभएको होला ।’
अर्को प्रसंगमा पाण्डेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूलो दलको नेता प्रधानमन्त्री हुनु व्यावहारिक हुने बुझ्नुपर्ने औंल्याए ।’ प्रचण्डजी खुला रुपमा आफ्ना कुरा राख्नुहुन्छ । अहिले ठूलो दलको नेता नै प्रधानमन्त्री हुनु व्यावाहारिक हो भन्ने कुरा पक्कै बुझ्नुहुन्छ,’ उनले भने ।
सहमहामन्त्री पाण्डेले प्रधानमन्त्रीमा आलोपालो सहमति गर्न आवश्यक नभएको पनि बताए । उनले भने, ‘दुई-तीन वर्षपछि प्रधानमन्त्री परिवर्तन हुन सक्ला । तर आलोपालोमा सहमति गर्नु आवश्यक छैन । घोषित रुपमा आलोपालो भन्दा राजनीतिक स्थिरतामै प्रश्नचिह्न लाग्छ ।’
उनले आफ्नो विचार समूहमा एक जना मात्र संसदीय दलको नेतामा उठ्नुपर्ने पनि बताए । पाण्डेले थपे, ‘संसदीय दलमा रडाकोभन्दा पनि प्रतिस्पर्धा हुने हो । गगन थापाको पुस्ता समेत म देशको प्रधानमन्त्री बन्छु भन्ने बिन्दुमा आयो । पुरानाले म पनि सक्षम छु भनेको स्थिति छ । त्यसमा मतदान हुन्छ र परिणामलाई स्वीकारेर जानुको विकल्प छैन ।’
नेतृत्व परिवर्तनको पक्षमा आफू उभिने पनि पाण्डेले स्पष्ट पारे । उनले भने, ‘म हिजो मात्र बाजुराबाट आएँ । दिउँसो पार्टी कार्यलयमा थिएँ, बेलुकी बालुवाटारमा बसें । साथीहरुसँग खासै छलफल हुन पाएको छैन । तर म चौधौं महाधिवेशनदेखि नै नेतृत्व परिवर्तनको पक्षमा पक्षमा छु । दुईतीनजना लड्ने र हार्नेभन्दा एक जना उम्मेदवार हुनोस्, जित्नेगरी लड्नुस् भन्ने मेरो आग्रह रहन्छ । किनभने शेखर कोइराला, गगन थापा दुवै उठ्दा जितिँदैन ।’
साथै उनले पहिलो दल हुने जसको श्रेय शेरबहादुर देउवालाई नै जाने पनि बताए । पाण्डेले थपे, ‘यसमा कुनै दुबिधा छैन । अब ठूलो दलबाट बहुमतप्राप्त दलमा जानका लागि रणनीति बनाउनुपर्छ । अब व्यक्तिगत आलोचना गरेर रुमल्लिनु जरुरी छैन । प्रतिफलमुखी रचनात्मक काम गर्नुपर्छ ।’