Logo

संसदीय दलको नेतामा उम्मेदवारी दिने देउवाको घोषणा, शेखर कोइराला समूहमा अलमल



काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका छन् । आफूनिकटका नेताहरुसँगको छलफलमा उनले आज दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेसमा दलको नेतामा युवालाई अघि सार्नुपर्ने बहस भैरहेको बेलामा सभापति देउवाले उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले पार्टीभित्र पूर्व महामन्त्री डा. शशांक कोइरालाको साथ पाइसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि साथ पाउने उनको विश्वास छ ।

त्यस्तै, प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि साथ दिने देउवाले विश्वास लिएका छन् । आजमात्रै देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीले डा. मिनेन्द्र रिजालसँग भेटवार्ता गरेका छन् । पछिललो समय रिजालले पनि देउवालाई नै दलको नेता बनाउनुपर्ने मत राखेका छन् ।

शेखर कोइराला समूहले दलको नेतामा कसलाई अघि सार्छ भन्ने अहिलेसम्म तय भएको छैन् । तर, उक्त समूहबाट महामन्त्री गगनकुमार थापाले दलको नेताको लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अहिले सो समूहको छलफल चलिरहेको छ ।

शेखरले भने गगनलाई पनि खुलेर समर्थन गरेका छैनन् । बरु, प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माले भने थापालाई दलको नेता बनाउनुपर्ने आवाज उठाएका छन् । उनले गगनलाई प्रधानमन्त्री बनाउन आफूले प्रस्ताव गर्ने पनि बताईसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्