Logo

तीन लाख भोट पनि नल्याईकन अर्काको बुइ चढेर १० सिट जित्ने पार्टीले प्रधानमन्त्रीमा दाबी गर्नु हाँस्यास्पद होः प्रदीप ज्ञवाली (भिडिओसहित)



काठमाडौं, २६ मंसिर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टी एक थान सरकार बनाएर खुट्टा मात्र टेकाउने प्रयासमा नलागेको बताएका छन् । ‘विगतमा पनि एमाले र कांग्रेस मिलेर सरकार बनाएका उदाहरण छन् । २०५५ सालमा गिरिजाप्रसाद कोइरालाको सरकार, कांग्रेस मिलेर माधव नेपालको सरकार, एमालेको समर्थनमा सुशील कोइरालाको सरकार चलेकै हुन् । यी सरकार खास मिसनका लागि बनेका छन् । यसबारे कांग्रेस साँच्चै गम्भीर छ भने हामी बाहिरबाट सरकारलाई सहयोग गर्न सक्छौं । छलफल गर्न सक्छौं । तर एक थान सरकार बनाएर खुट्टा त टेक्ला । तर सरकार बनाउनुमात्र सबथोक होइन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले भने ।

एमालेका निम्ति सरकार तपसिलको कुरा भएको पनि उनले बताए । ज्ञवालीले भने, ‘कसको सरकारभन्दा पनि मुख्य प्रश्न संसदमा उपस्थित १२ वटा दल छन् । पहिलो दल, तेस्रो, चौथो र पाँचौं मिल्दा पनि बहुमत पुग्दैन । यस्तो अवस्थामा लोकतन्त्र कसरी जोगाउने ? सरकार बनाउँदा गठबन्धनको १३६ र अर्को दल जोड्दा सजिलो छ । बनाउनुस् ।’

शेरबहादुर देउवा प्रधानमन्त्री भएर मुलुकले केही नपाउने ठोकुवा पनि ज्ञवालीले गरे । उनले थपे, ‘तर एक थान सरकार त धेरै बने नि । देउवा पाँचपटक प्रधानमन्त्री भएर पाँचवटा सम्झन लायक काम गर्नुभयो ? राजनीतिक गोटी चाल्नु, साना पार्टीले मागेको कुरा दिनु सफलता हो र ? मुलुकले हिजो के पायो, आज के पाउँछ ?’

जम्मा तीन लाख भोट नपाउने एकीकृत समाजवादीले प्रधानमन्त्रीमा दाबी गर्नु लज्जास्पद भएको पनि उनले बताए । ज्ञवालीले थपे, ‘जसले तीन लाख भोट ल्याएन । राष्ट्रिय दल बन्ने हैसियत पाएन । अर्काको बुई चढेर १० सिट ल्याएको पार्टी हो । ९० प्रतिशत भोट कांग्रेसले, ७-८ प्रतिशत भोट माओवादीले हालिदियो । त्यो पार्टी पनि पाँच वर्षमा दुई-दुई वर्ष तिमीहरु खाऊ, एक वर्ष म चलाउँछु भनिरहेको छ । यो भन्दा लज्जास्पद के हुन्छ ?’



प्रतिक्रिया दिनुहोस्