Logo

बेवारिसे कागजात अझै बेवारिसे



काठमाडौं, मंसिर २७ । । नेपालीमा एउटा निकै चर्चित उखान छ, ‘सरकारी काम, कहिले जाला घाम ।’ यतिबेला यो उखान केशरमहलका कागजात व्यवस्थापन गर्ने सन्दर्भमा चरितार्थ बन्न पुगेको छ । बेवारिसे बनाइएका कागजातबारे पछिल्लो पटक गोरखापत्रमा खबर सार्वजनिक भएको नौ दिन बितेको छ ।

यस अवधिमा शिक्षा निकायका कुनै पनि पदाधिकारी वा कर्मचारीलाई ती कागजात व्यवस्थापन गर्ने सन्दर्भमा केशरमहल पुग्नेसम्म पनि फुर्सद मिलेको छैन । यसअघि पनि गोरखापत्रले ३१२ दिनअघि अर्थात् २०७८ साल चैत २० गते केशरमहलका दस्तावेजसहितका कागजात बेवारिसे पारिएको बारेमा मुख्य समाचार नै छापेको थियो ।

‘साइट क्लियरेन्स’का लागि भन्दै केशरमहल पुनर्निर्माण कम्पनीले साबिकमा थन्क्याइएको स्थानबाट ती कागजातलाई झिकेर घाममा सुकाई करिब १५० वटा बोरामा राखिदिएको छ । केशरमहल पुनर्निर्माण कम्पनी जेडसीजीआई–खानी जेभीका आयोजना व्यवस्थापक इन्जिनियर नरकान्त सापकोटाले भने, “शिक्षा मन्त्रालयबाट अझैसम्म कोही पनि आउनुभएको छैन । बोरामा राखिएका स्थानबाट हटाइदिन केशर पुस्तकालय प्रमुखलाई आग्रह गरेका छौँ ।”

केशरमहलको पुनर्निर्माणको जिम्मा पाएपछि निर्माण कम्पनीले सो दरबारका कोठामा रहेका कागजातलाई लिएर जान पटक पटकभन्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चासो नदिएपछि तिनलाई केशर पुस्तकालयको प्रवेशद्वार नजिक राखिदिएको थियो । ती कागजातले आकाशमुनि रहेर तीन वर्षको बर्खा झेलिसकेका छन् ।

हाल बोरा थुपारिएको स्थानमा पेभिलियन, सानो पोखरी र बगैँचा निर्माण गर्नुपर्ने भएकाले छिटो ‘साइट क्लियर’ गरिदिन पुनर्निर्माण कम्पनीले आग्रह गरेको छ । कतिपय कागजात कुहिएका र काम नलाग्ने अवस्थामा पनि पुगेका छन् । तिनलाई पनि सुकाइएर बोरामा राखिएको छ । बोरामा राखिए पनि दिनभरिको घाम र रातको शीतले त्यति सुरक्षित छैनन् । लेखिएका थुप्रै कागजातका अक्षर चिस्यानले बगिसकेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग, वैदेशिक अध्ययन अनुमति शाखा, छात्रवृत्ति शाखा, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल भ्रमण वर्ष २०२० को सचिवालयलगायत निकायका कागजात त्यहाँ छन् । आर्थिक सहायता उपलब्ध गराइदिनेदेखि विभिन्न निर्णयका फाइल पनि छन् । डेनमार्कको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापित इस्याट परियोजनाले प्रकाशन गरिदिएका शिक्षासम्बन्धी विभिन्न प्रतिवेदन तथा कानुनका दस्तावेज पनि कुहिएको अवस्थामा फेला परेका छन । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्