Logo

‘राष्ट्रपति र सभामुख लिनेले पाँच-पाँच वर्ष खाने तर प्रधानमन्त्री लिनेले बीचैमा छाड्नुपर्ने कुरा प्राकृतिक न्यायको सिद्धान्त होइन’



काठमाडौं, २७ मंसिर । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार एवं भूराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले स्थानीय निर्वाचन र प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा अन्य पार्टीको तुलनामा कांग्रेसको सन्तोषजनक प्रदर्शन भएको दाबी गरेका छन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन र प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन गराउँदा सापेक्षित रुपमा कांग्रेसको प्रदर्शन सन्तोषजनक रह्यो । यो गणितीय सत्य हो । एमाले साइजमा आएको छ । माओवादी र मधेसवादी दल खुम्चिएका छन् । तर ती दलमा नेतृत्वप्रति प्रश्न उठेन । तर कांग्रेसमा मात्र नेतृत्वप्रति प्रश्न उठ्दा चाहिँ मेरो मस्तिष्कले काम गरिरहेको छैन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सुवेदीले भने ।

उनले अहिलेको जति सिट गठबन्धन नगरेको भए पनि आउँथ्यो भन्नु उचित नहुने पनि बताए । सुवेदीले थपे, ‘मलाई लाग्छ, गठबन्धन नभएको भए अहिलेभन्दा बढी आउँथ्यो भनेर शेखर कोइराला र गगन थापाले भन्नुभएको छैन । तर यस्ता अतिरिक्त प्रश्न संचार र सञ्जालमा आएका छन् । बरु विश्वप्रकाश शर्मा र पूर्णबहादुर खड्काले देउवालाई धन्यवाद दिनुपर्ने टिप्पणी गर्नुभएको छ । तर अरु नेताले त्यसो भन्नुभएको छैन । मलाई आश्चर्य लाग्छ ।’

संसदीय दलमा गगन थापाको दाबेदारीलाई अन्यथा नलिइने पनि सुवेदीले बताए । उनले भने, ‘गगनजीले म उठ्छु भन्नुभयो, रामचन्द्र दाइले पनि उठ्छु भन्नुभएको छ । शेरबहादुरजीले सार्वजनिक रुपमा बोल्नुभएको छैन । अर्को स्वभाविक उम्मेदवार डा. शेखर कोइरालाले पनि बोल्नुभएको छैन । गगनजी संसदीय दलमा लड्दा मलाई अन्यथा लाग्दैन । उहाँ पार्टीको महामन्त्री हो । ५० वर्ष पुग्न लागिसक्नुभयो । गिरिजाप्रसाद कोइरालासँग चिरञ्जीवी वाग्ले, भीमबहादुर तामाङ पनि लड्नुभएकै हो ।’

संसदीय दलमा उम्मेदवारी दिनेले गठबन्धन दलहरुको विश्वास जित्न सकिन्छ कि सकिँदैन भनेर सोच्नुपर्ने पनि उनले औंल्याए । सुवेदीले थपे, ‘देउवा तेह्रौं र चौधौं महाधिवेशनमा सभापति जित्दा पनि सर्वसम्मत हुनुभएको होइन तर जितेपछि सर्वसम्मत हुनुभयो । निर्वाचन होला, जसले जित्ला, ऊ सर्वसम्मत होला । पूर्णबहादुर खड्का र विमलेन्द्र निधिले देउवा भनिसक्नुभयो । यसबारे पार्टीको केन्द्रीय समिति, कार्यसम्पादन समिति र संसदीय दलको बैठकमा कुरा होला । संसदीयदलमा उम्मेदवारी दिनेले गठबन्धन दलको विश्वास जित्न सकिन्छ कि सकिँदैन भनेर पक्कै सोच्लान् ।’

गठबन्धन दलहरुबीच शासकीय पदमा कसरी भागबन्डा हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा सल्लाहकार सुवेदीले भने, ‘कांग्रेसले निर्वाचन सफल गरायो, ठूलो दल पनि भयो, अब कार्यकारी पदमा कांग्रेसको अपेक्षा स्वाभाविक हो । राष्ट्रपति पनि गठबन्धन दलभित्रकै हुन्छ, उसले पाँच वर्ष चलाउँछ, सभामुख पनि पाँच वर्षकै हुन्छ । तर कांग्रेसले लिने प्रधानमन्त्री पद अल्पकालीन हुने कुरा प्राकृतिक न्यायको सिद्धान्त होइन ।’

साथै उनले रेशम चौधरीको रिहाइको पक्षमा दर्बिलो राजनीतिक मत रहेको पनि सुवेदीले औंल्याए । उनले भने, ‘रेशम चौधरीबिना पनि गठबन्धनको बहुमत पुग्छ । यो आजको मात्र बहस होइन । उनको रिहाइको पक्षमा दर्बिलो राजनीतिक मत छ । यो काम कांग्रेसले मात्र गरेको होइन । सबैलाई थाहा छ, यो कांग्रेसको मात्र सरकार होइन, गठबन्धन सरकार हो ।’



प्रतिक्रिया दिनुहोस्