Logo

फोहोर व्यवस्थापनमा महानगर चुकेकै हो !



काठमाडौं, मंसिर २८। फोहोर व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने योजनामा काठमाडौं महानगर चुकेको देखिएको छ । गत १ साउनमा सूचना सार्वजनिक गर्दै उसले स्रोतमै फोहोर वर्गीकरण गर्न र नगरेको पाइए दण्ड जरिमाना गर्ने चेतावनी दिएको थियो । तर, जारी गरेको चार महिनासम्म पनि सूचना कार्यान्वयन हुन सकेको छैन ।

स्थानीय तह निर्वाचन हुँदै गर्दा फोहोर नउठेर विकराल समस्या आइपरेको थियो । महानगरदेखि केन्द्र सरकारसम्म उपत्यकाको फोहोर समस्या समाधानतिर लागे । तत्कालका लागि फोहोर उठ्न थालेपछि महानगरले पनि दीर्घकालीन योजना बिर्सेको पाइएको छ भने वर्गीकरण विषयसमेत बेवास्ता भएको छ ।

महानगरपालिकाले ठाउँ अभावका कारण फोहोर वर्गीकरण गर्न नसकिएको बताउँदै आएको छ । स्थान पहिचानसँगै कुहिने फोहोर प्रयोग गरी मल बनाउने तयारी भइरहेको उसको भनाइ छ । तर, यसका लागि आवश्यक पहल कदमी, सम्बन्धित निकायसँग समन्वय र केन्द्र सरकारलाई झक्झकाउनेमा भने महानगर चुकेको छ ।

नुवाकोट र धादिङ बन्चरेडाँडा तथा सिसडोलका बासिन्दासँग फोहोर वर्गीकरण गर्ने, बाटो निर्माण तथा मर्मतलगायत विषयमा समझदारीपछि विसर्जन सहज रूपमा हुन पुगेको हो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्